गोरक्ष समाचारदाता
दाङ, १८ असार । युवा क्षमता विकास, सामाजिक उत्तरदायित्व र संस्थागत पारदर्शिताको अनुकरणीय अभ्यास गर्दै आएको त्रिभुवननगर जेसीजले नेपाल जेसीज अन्तर्गतको प्रतिष्ठित ‘जेनिथ सशक्तीकरण प्रशंसा पुरस्कार’ प्राप्त गरेको छ ।
क्षेत्र ‘घ’ भित्रका ५८ स्थानीय शाखामध्ये उत्कृष्ट शाखाका रूपमा नेपाल जेसीजले त्रिभुवननगर जेसीजलाई ‘जेनिथ सशक्तीकरण प्रशंसा पुरस्कार’ प्रदान गरेको हो । त्रिभुवननगर जेसीजले वार्षिक कार्ययोजना अनुसार युवा लक्षित बहुआयामिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावत अनन्तले विभिन्न परियोजना निर्माण गरेर जेसीजका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । उनले समयमै र गुणस्तरीय कार्यान्वयन, राष्ट्रिय तथा प्रदेशस्तरीय अभियानमा उल्लेखनीय सहभागिता, सामाजिक सचेतनामूलक तालिम र नियमित प्रतिवेदन पेस अभ्यासका उपलब्धि जस्ता आधार नै ‘जेनिथ सशक्तीकरण प्रशंसा पुरस्कार’ रहेको बताए ।
‘यो पुरस्कार सम्मान मात्र होइन, हाम्रो साझा समर्पण र संस्थागत आत्मदर्शनको साक्षी हो । यसले हामीलाई अझै प्रतिबद्ध र सशक्त रूपमा समाजको सेवामा जुट्न प्रेरणा दिएको छ’, अध्यक्ष रावतले भने ।