राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा सडक सुधारका लागि अपील

तुलसीपुर, १७ असार । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चले सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर बिष्टलाई सडक सुधार र आवश्यक समन्वयका लागि अपील गरेको छ।

मञ्चले मंगलवार सडक डिभिजन कार्यालयमा पुगेर प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा राप्ती राजमार्गको तुलसीपुर क्षेत्रमा पर्ने विभिन्न सडक खण्डहरूमा खाल्डाखुल्डी, ट्राफिक संकेतको अभाव र अन्य समस्याहरूले सर्वसाधारणको दैनिक जीवनमा ठुलो असर परेको उल्यख गरेको छ। मञ्चले सडकको नियमित मर्मत, खाल्डा पुर्ने, ट्राफिक संकेत राख्ने र दुर्घटना न्यूनीकरणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।

साथै, मञ्चले तुलसीपुर बजार क्षेत्रमा पर्ने सडकको अवस्थालाई विशेष ध्यान दिई सुधार गर्नुपर्ने माग गरेको सदस्य सचीव चेतन रेग्मीले जानकारी दिएका छन् । ज्ञापनपत्र बुझ्दै सडक डिभिजन कार्यालय प्रमुख दिपेन्द्रबहादुर बिष्टले समस्यालाई गम्भीर रूपमा लिएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

अहिले सडक विस्तारको कुनै योजना नभएको, सडक छेउछाउका खाल्डाहरू पूर्न यो वर्ष बजेट नरहेको जानकारी गराएका थिए । उनले राष्ट्रिय राजमार्ग भन्ने वित्तिकै २५ मिटर सडक हुनै पर्छ भन्ने नरहेकोले आवश्यकता अनुसार सडक घटबढ हुन सक्ने बताएका छन् ।

मञ्चका अध्यक्ष नवराज लामिछानेले ज्ञापनपत्र बुझाउँदै सडकको अवस्थाले सर्वसाधारणको दैनिक जीवनमा असर परिरहेको भन्दै तत्काल समाधानका लागि आग्रह गरेका छन् । उनले भने,‘सडकको बीचबाट जथाभाबी बाटो काटने अवस्थाले दुर्घटनाको जोखिम बढेको छ, त्यसैले सम्बन्धित निकायले तुरुन्त पहल गर्नुपर्छ।’ कार्यक्रममा मञ्चका पदाधिकारीहरू दिपककुमार आचार्य, डा अरुणकुमार श्रेष्ठ, प्रलाद शाह, सुर्यप्रसाद पौडेलको सहभागिता रहेको थियो।