विपद्को पूर्व तयारीमा जुट्न नेविसंघको ध्यानाकर्षण

गोरक्ष समाचारदाता
दाङ, ९ असार । बर्षादको समयमा विभिन्न प्राकृतिक प्रकोप तथा विपद्को उच्च जोखिम रहने समयमा आवश्यक पूर्व तयारी तथा व्यवस्थापन गर्न आग्रह गर्दै नेपाल विद्यार्थी संघ दाङले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

मनसुन जन्य प्राकृतिक विपद् पूर्व तयारी तथा प्रतिकार्यका सम्वन्धीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी, डुवान, पहिरो र अन्य प्राकृतिक विपद्ले जिल्लाभरि जनधनको क्षति पु¥याउँदै आएको भन्दै बिपद्बाट हुने क्षति न्यूनीकरणका लागि ध्यानाकर्षण गराएको हो ।

संघले विपद्बाट उत्पन्न हुन सक्ने जोखिम, जनधनको क्षति तथा दैनिक जीवनयापनमा आइपर्न सक्ने कठिनाइलाई न्युनीकरण गर्न पूर्व तयारीमा चाँडो र प्रभावकारी रूपमा जुट्न आग्रह गरेको छ । यसका लागि विद्यालय तथा कलेजहरूमा सुरक्षा प्रोटोकल, सुरक्षित बसोबास, सरसफाइ, पिउने पानी, औषधोपचार तथा यातायात व्यवस्थाको पूर्व तयारीमा जोड दिएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलरारज पोख्रेलले जानकारी दिएका छन् ।

संघले विपद्का सम्भावित क्षेत्रहरूमा सूचना प्रणाली सुदृढ बनाउने, स्थानीय तह, स्वास्थ्य संस्थाहरू, रेडक्रस, स्काउटलगायत सम्पूर्ण सरोकारवाला निकायहरूबीच समन्वय कायम राख्न आग्रह गरेको छ । साथै राहत सामग्रीको व्यवस्थापन, सुरक्षित विद्यालय तथा अस्पताल, बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अशक्तहरूको विशेष सुरक्षाका लागि छुट्टै व्यवस्था गर्नुपर्ने, महिला स्वास्थ्य तथा सरसफाइ, सुत्केरी सेवा, मोबाइल स्वास्थ्य टोली परिचालनको व्यवस्था मिलाउन समेत माग गरेको छ ।

नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी,महेन्द्र बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति मनोज डिसीलगायतका विद्यार्थी नेताहरुले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका थिए । त्यस अवसरमा नेविसंघले केन्द्रको निर्देशन अनुसार जिल्लामा मनसुन जन्य विपद्को पूर्व तयारी, तत्काल उद्धार तथा राहत व्यवस्थापनका लागि नेविसंघले प्रत्येक जिल्लामा ३० सदस्यीय विपद् पूर्व तयारी स्वयम सेवक समिति गठन गरेको जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी लम्सालले जिल्लामा विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनाका बारेमा जानकारी गराएका थिए ।