गोरक्ष समाचारदाता
तुलसीपुर, ३० जेठ । दाङका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सङ्घीय सरकारले सुनका गरगहनासम्बन्धी नयाँ प्रावधान ल्याउन लागेको भन्दै त्यसको विरुद्धमा सुन व्यवसायी आन्दोलित भएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सुनका गरगहनामा दुई प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरातलगायतका बहुमूल्य धातुमा १३ प्रतिशत भ्याट लगाउने जस्ता प्रावधान ल्याउन लागेको भन्दै देशभरका सुन व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
जिल्लाका सुनचाँदी व्यवसायीहरूले बुधवार तुलसीपुर, घोराही र लमहीमा हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका छन् । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरको आयोजनामा बुधवार वीपी चोकमा हस्ताक्षर सङ्कलन गरिएको महासचिव तुलसीराम सुनारले जानकारी दिएका छन् ।
उनका अनुसार संघका उपाध्यक्ष मनोज शाहको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा संघका सल्लाहकार मिनराज वली र निवर्तमान उपाध्यक्ष इन्द्रवीर डाँगीले सरकारले ल्याउन लागेको नीति व्यवसायी र ग्राहकको हितविपरीत भएको भन्दै विरोध कार्यक्रम गरिएको बताए ।
सरकारले यसबारे तत्कालै नीति सच्याउनु पर्ने व्यवसायीले माग गरेका छन् । बजारमा मूल्य अस्थिर हुँदै गएको र ग्राहकको खरिद क्षमता घट्दै गएको अवस्थामा सरकारले यस्तो नीति ल्याउनु उचित नभएको भन्दै खारेज गर्न माग गरेका छन् ।
सुनचाँदी केवल धातु मात्र नभई नेपाली समाजको संस्कार, संस्कृति र परम्परासँग जोडिएको वस्तु भएकाले यसको कारोबारलाई अतिरिक्त करको भारमा पार्न नहुने व्यवसायीको माग रहेको छ । यसैबिच घोराहीमा घोराही सुनचाँदी व्यवसायी संघको आयोजनामा हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सयुंक्त निर्देशन अनुसार जिल्लामा विरोध कार्यक्रम आयोजना गरिएका हुन् ।
तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुर र नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीको संयुक्त आयोजनामा प्लेकार्ड र ब्यानरसहित घोराही बजार परिक्रमा गरिएको थियो । व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।
बिलासिता कर खारेजीको माग
यसैबिच सुनचाँदी व्यवसायीले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सरकारले गरेको सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर खारेजीको माग गरेका छन् । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लागुले नेपाल बंैकबाट उपभोक्तासम्म सुन आइपुग्दा छ प्रतिशतले बढी हुन आउने र त्यसको सिधा असर उपभोक्तामा पर्ने भएकाले व्यवसायीले खारेजीको माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी संघ दाङ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघले घोराहीमा संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेर सुनचाँदी कारोबारमा लागु गरिएको दुई प्रतिशत विलासिता कर, बहुमूल्य हिरा पत्थरमा लागु गरिएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार छ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माण गर्नुपर्ने मागसहित सुनचाँदी पसल बन्द गरेर आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ध्रुव गहतराजले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य सघका अध्यक्ष वसन्त जोशी, सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य लोकबहादुर स्वर्णकार, तुलसीपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरिकृष्ण विकलगायतले सुनचाँदी व्यवसायीले उठाएका मागलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका थिए ।