नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीलाई सहभागी गराउनुपर्ने माग
घोराही,२६ जेठ । घोराही उपमहानगरपालिकाले नीति तथा कार्यक्रमको छलफलमा सञ्चारकर्मीलाई पनि सहभागी गराउनुपर्ने नगरसभा सदस्य लेखनाथ बुढाथोकीले माग गरेका छन् ।
नगरसभाको १७ औं अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले आगामी आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा नगरसभा सदस्य बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा जस्तै छलफलमा पनि सञ्चारकर्मीलाई सहभागीता गराउनुपर्ने माग गरेका हुन ।
घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य समेत रहेका बुढाथोकीले भने,‘अहिले जसरी सञ्चारकर्मीको सहभागीता रहेको छ, त्यो सहभागीता नीति कार्यक्रममाथिको छलफलमा पनि हुनुपर्छ ।
उनले आफूले चुनेका जनप्रतिनिधिले विकास निर्माणका सवालमा केकस्ता विषयमा बोल्ने रहिछन् भनेर जान्न पाउने अधिकार भएको र त्यही कारण सोमबारको नगरसभाको अधिवेशनमा आफूले सञ्चारकर्मीलाई छलफलमा सहभागी गराउनुपर्ने माग गरेको बताएका छन्।
नगरसभा सदस्य बुढाथोकीले उठाएको विषयमा जबाफ दिदै नगर प्रमुख चौधरीले आफुले एक्लै चाहेर गर्न नसक्ने भन्दै नगरको नीति, नियम र कानुन अनुसार अगाडि बढ्ने बताएका थिए । नगर प्रमुखको चित्त बुझ्दो जवाफ नआएको भन्दै बुढाथोकीले नीति तथा कार्यक्रम बाचन गर्ने समयमा उभिएर बिरोध जनाएका थिए ।
