घोराही–तुलसीपुर सडकमा पुल : कतै काम सुरु नै भएन, कतै सुस्त

लीलाधर वली
दाङ, २२ जेठ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत चारवटा खोलामा पुल निर्माणका लागि ठेक्का लागेकोमा सेवार खोलामा मात्र पुल निर्माणको काम अघि बढेको छ । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्ष सकिन लाग्दा ग्वार खोलामा निर्माण व्यवसायीले काम सुरु गरे पनि हापुर खोला र काला खोलामा पुल निर्माणको काम अझै सुरु हुनसकेको छैन ।

हापुर खोला, ग्वार खोला र काला खोला शर्मा सुगन जेभी र सेवारखोला पुल एमएस रायमाझी कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौता अनुसार ग्वार खोला र काला खोला पुल निर्माणको काम अन्तिम चरणमा पुग्नुपर्ने भए पनि काम अझै सुरु हुन सकेको छैन ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत, हापुर खोला, ग्वार खोला र काला खोलामा चारलेन सडकलाई समेट्ने गरी पुल निर्माणको ठेक्का सम्झौता भएको थियो तर पुल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले ठेक्का सम्झौता गरे पनि काम सुरुवात गर्न मोविलाइजेसन पेस्कीसमेत पाउने अवस्था नदेखिएपछि काममा ढिलाइ गर्दै आएको छ ।

म्याद सकिन चार महिना, काम सुरु भएन

काला खोलामा पुल निर्माणका लागि शर्मा सगुन जेभी बुटवलसँग ठेक्का सम्झौता भएको तीन वर्ष भयो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का सम्झौता भएको तीन वर्षसम्म पनि पुल निर्माणको काम भने सुरु हुनै सकेको छैन । २०८२ भदौ २८ गते पुल निर्माणको काम सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो ।

९० मिटर लम्बाई र २० दशमलव पाँच मिटर चौडाइ रहेको चारलेनको पुल निर्माणका लागि १७ करोड ८२ लाख ७९ हजार आठ सय रुपैयाँमा ठेक्का सम्झौता भएको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिएका छन् । उनका अनुसार म्याद सकिन अब चार महिना मात्र बाँकी छ । पुल निर्माणको कामलाई अघि बढाउन पटक–पटक निर्माण कम्पनीलाई ताकेता गरे पनि काम अघि बढ्न नसकेको इन्जिनियर चौधरीले बताए । एउटै निर्माण कम्पनीले धेरै ठाउँमा ठेक्का लिने तर काम गर्ने जनशक्ति कम हुँदा पुल निर्माणमा ढिलाइ भएको उनी बताउँछन् ।

सकिने बेला ग्वार खोलामा काम सुरु

ठेक्का सम्झौता अनुसार म्याद सकिन चार महिना मात्र बाँकी रहेको समयमा निर्माण कम्पनीले ग्वार खोलामा पुल निर्माणको काम सुरु गरेको छ । दुईलेन पुल निर्माणका लागि हाल फाउन्डेसनको काम सुरु गरेको छ । ग्वार खोलामा पनि पुल निर्माणको काम शर्मा सगुन जेभीले पाएको छ । २०८२ भदौ २८ गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । २२ करोड पाँच लाख ४७ हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता भएको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर चौधरीले जानकारी दिएका छन् । इन्जिनियर चौधरीका अनुसार पुलको लम्बाइ दुई सय २० मिटर र चौडाइ करिब ११ मिटर रहेको छ ।

हापुर खोलामा काम अघि बढेन

काला खोला र ग्वार खोलासँगै ठेक्का लागेको हापुर खोलामा पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन । २०८२ पुसमा काम सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । एक सय ५० मिटर चारलेन पुल निर्माणका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपैयाँमा ठेक्का लागेको थियो । सम्झौता भएको करिब तीन वर्ष पुग्न लाग्दा सम्म पनि काम सुरु हुन सकेको छैन ।

सेवार खोलामा करिब ४० प्रतिशत काम

घोराही–तुलसीपुर सडक खण्डमा ठेक्का लागेका पुलमध्ये सेवार खोलामा भने निर्माणको काम अघि बढेको छ । २०८३ जेठ २८ गतेभित्र चारलेन पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको पुलको हालसम्म ३५÷४० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर चौधरी बताउँछन् । उनका अनुसार ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइ रहेको पुल निर्माणका लागि २३ करोड २२ लाख ४३ हजार तीन सय रुपैयाँमा एमएस रायमाझी कन्स्ट्रक्सन जेभीसँग २०८० जेठ ३० मा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम सुरु गरेको निर्माण कम्पनीले तीन वटा पिलरमध्ये दुईवटा पिलर निर्माण गरिरहेको छ । बजेटको अभाव नभए पुलको बाँकी काम आगामी वर्ष सकिने बताइएको छ ।

पुल निर्माण भएपछि घोराही–तुलसीपुर सडकमा वर्षातको समयमा हुने समस्या हट्ने छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवार खोला, गुर्जे खोला, हापुर खोला, पत्रे खोला, सक्राम खोला, ग्वार खोला र काला खोलामध्ये चारवटा खोलामा पुल निर्माण भइसकेका छन् ।