दाङ,१९ जेठ । यातायात व्यवसायीहरूको आन्दोलनका कारण दाङसहित देशभर सार्वजनिक यातायात सेवा बन्द भएको छ । सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि यातायात सेवा ठप्प भएको हो ।
सार्वजनिक यातायातका साधन नचल्दा यात्रु भने समस्यामा परेका छन् । बन्दका कारण बिहानदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारीसाधन भने छिटफुट रुपमा चलेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरिएको छ ।
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।
यातायात व्यवसायीहरूले विभिन्न माग राख्दै आजदेखि अनिश्चितकालका लागि सार्वजनिक सवारी नलाउने निर्णय गरेका हुन् । व्यवसायीहरूले सरकारसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागहरू पूरा नभएपछि सवारी साधन बन्द गरेर आन्दोलनमा उत्रनुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार सुरेश हमालले बताएका छन् ।
निजी सवारी साधनलाई यात्रु बोक्न दिने गरी गण्डकी प्रदेश सरकारले निति बनाएपछि सार्वजनिक यातायात व्यवसायी शुक्रबारदेखि आन्दोलित भएका हुन् । संविधान विपरित प्रदेश सरकारले ऐन बनाएर कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने उनको भनाई छ ।