गोरक्ष समाचारदाता
रुकुम पूर्व, १७ जेठ । रुकुम पूर्वमा किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले दुई दिने समीक्षा तथा आत्म–मूल्याङ्कन तालिम सुरुभएको छ ।
संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) को प्राविधिक सहयोगमा नेपाल परिवार नियोजन संघको आयोजनामा सञ्चालित तालिमले बृहत यौनिकता शिक्षा कार्यक्रम र किशोरमैत्री सूचना केन्द्रहरूको कार्यान्वयनको प्रभावकारीता मूल्याङ्कन गर्ने लक्ष्य राखेको छ ।
तालिममा रुकुम पूर्वका १२ वटा विद्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। किशोरमैत्री सूचना केन्द्रहरूका १२ जना प्रशिक्षित शिक्षक (किशोर–किशोरीमैत्री सम्पर्क शिक्षक) र १२ जना किशोर–किशोरी साथी शिक्षक गरी २४ जनाको तालिममा सहभागीता रहेको छ ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालका अनुसार तालिमका मुख्य उद्देश्यहरूमा सहभागी विद्यालयहरूमा सञ्चालित गतिविधिहरूको समग्र समीक्षा, व्यक्तिगत अनुभवमा आधारित आत्म–मूल्याङ्कन, उत्कृष्ट अभ्यास र सफलताका कथाहरूको पहिचान र भविष्यमा कार्यक्रमलाई दीगो रूपमा सञ्चालन गर्ने रणनीति निर्माण गर्नु रहेको छ ।
शाखा प्रवन्धक खनालका अनुसार तालिम पूर्णत अन्तरक्रियात्मक र सहभागीमूलक विधिबाट सञ्चालन गरिएको थियो । समूहगत कार्य, अनुभव आदान–प्रदान, प्रस्तुति, उपलब्धि तथा चुनौती विश्लेषण र भावी योजना निर्माणजस्ता विविध सत्रहरूमार्फत सहभागीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ ।
तालिमको पहिलो दिन सहभागीले आफ्ना सम्बन्धित विद्यालयहरूमा प्राप्त गरेका सिकाइहरू, हासिल गरेका उपलब्धिहरू र सामना गरेका चुनौतीहरूको विस्तृत प्रस्तुति गरेका थिए। यसका साथै, विभिन्न सफलताका प्रेरणादायी कथाहरू साझा गरिएका थिए, जसले अन्य सहभागीहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले अध्यक्षता भएको थियो । उनले किशोरमैत्री सेवा तथा बृहत यौनिकता शिक्षाले स्थानीय समुदायमा ल्याएको सकारात्मक परिवर्तनको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू विद्यालयहरूमा दीगो रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
तालिमको सहजीकरण अनुप अधिकारी, प्रबिण खड्का र रेनु यादवले गरिरहेका छन् । तालिमको दोस्रो दिन आइतबार सहभागीहरूले व्यवहारमा आधारित सुझावहरू र आगामी रणनीतिहरू प्रस्तुत गर्नेछन् । सुझावहरूको आधारमा भविष्यका योजनाहरू निर्माण गरिने छ ।