आलोक भावुक
गढवा, ३ जेठ । गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ अभियान सुरु गरेको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्रछात्रा तथा शिक्षकको मुटु जाँच कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरिएको हो ।
गढवा गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत बालबालिका तथा शिक्षकका मुटु जाँच गर्ने कार्यक्रमको आयोजना गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले जानकारी दिए । ‘हामीले यो अभियान केवल परीक्षणका लागि मात्र होइन, दीर्घकालीन स्वास्थ्य सुरक्षाको थालनीका रूपमा सुरु गरेका हौँ । विद्यालयमै स्वास्थ्य सेवा पु¥याउने हाम्रो योजना यो कार्यक्रममार्फत् कार्यान्वयनमा आएको छ ।’
बाथ, मुटु रोग र जन्मजात मुटु रोग ग्रामीण क्षेत्रका बालबालिकामा देखिन थालेकाले समयमै परीक्षण, सल्लाह र उपचारले ज्यान ज्यान जोगाउन सकिने अभिप्रायले यो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए । ‘गाउँपालिका विकास निर्माणमा मात्र सीमित हुनु हुँदैन, जनस्वास्थ्य विशेष गरी बालबालिकाको स्वास्थ्य सुरक्षित गर्नु हाम्रो प्राथमिक दायित्व हो’, अध्यक्ष पोख्रेलले भने । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा बाथ मुटुरोग तथा जन्मजात मुटुरोगको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।
गढवा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत करिब छ हजार छ सय विद्यार्थी, तीन सय ५० शिक्षक र अन्य गरी करिब सात हजार जनाको बाथ मुटु रोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ गरिने गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर विकले जानकारी दिए ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान दाङ र लुम्बिनी प्रदेश कमिटीको प्राविधिक सहयोगमा बाथ मुटुरोग तथा जन्मजात मुटुरोग परीक्षण अभियान सुरु भएको छ । मुटु परीक्षण कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेलगायतको टोलीले विद्यार्थीको मुटु रोग परीक्षण सुरु गरेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेश कमिटी संयोजक रविलाल आचार्यले जानकारी दिए ।
हालसम्म गढवा गाउँपालिकाको वडा नं. ३ अन्तर्गत सरस्वती प्रावि सुपैला, आदर्श रात्री प्रावि गोबरडिहा, वडा नं. ४ को दीपेन्द्र होमजुन मावि वडा न. ३ को सरस्वती मावि विद्यानगर, वडा न २ को प्रावि महदेवा, मावि पहहिया तथा रात्री प्रावि पचहिया, वडा नं ७ को प्रावि मानपुर, सरस्वती आधारभूत विद्यालय चन्दनपुर, वडा नं ५ स्थित माध्यमिक विद्यालय चैनपुर, प्राथमिक विद्यालय खज्रौटामा मुटु जाँच कार्यक्रम सम्पन्न भइसकेको छ भने अन्य विद्यालयमा मुटु जाँच कार्यक्रम जारी रहेको छ ।