चुनौती बन्दै उच्च रक्तचाप, मधुमेह र मोटोपना

बालाराम खड्का
तुलसीपुर, २९ वैशाख । पछिल्लो समयमा नसर्ने रोगहरू स्वास्थ्य क्षेत्रका चुनौती बन्दै छन् । बस्तीपिच्छे यस्ता समस्या देखिन थाल्दा स्वस्थ नागरिक र स्वस्थ जनशक्ति पाउनसमेत चुनौती देखिएको छ । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले हालै गरेको सर्वेक्षणले यो अवस्था देखाएको छ ।

विषाधीयुक्त खाद्यान्न, तरकारी तथा फलफूल, अल्छी जीवनशैली एवम् अर्गानिक खानेकुराको अभावमा यो समस्या दैनिक जसो बढ्दो क्रममा छ । यसले राज्यलाई ठुलो चुनौती थपिदिएको छ । शारीरिक परिश्रम गर्ने आदत हराउँदै जानु यस्ता रोग लाग्नुका कारण भएको स्वास्थ्य संवद्ध अधिकारीले बताएका छन् । तुलसीपुरमा नसर्ने रोग अन्तर्गत अधिक तौल उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरू धेरै भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाले नसर्ने रोगको प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ कार्यक्रममा सो भेटिएका हुन् ।

स्वस्थ मुटु अभियान तथा नागरिक आरोग्य प्रवर्धन कार्यक्रम अन्तर्गत विभिन्न वडामा पुगेर स्क्रिनिङ गरेको जनस्वास्थ्य शाखा प्रमुख ओमप्रसाद न्यौपानेले जानकारी दिए । पछिल्लो समयमा नसर्ने रोग जटिल बन्दै गइरेकोले नसर्ने रोगहरूको समयमै पहिचान गर्नका लागि यो कार्यक्रम सुरु गरेको उनको भनाइ छ । पछिलो समयमा जीवनशैलीमा आएको परिवर्तन, बढ्दो विषदी प्रयोग तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको छ ।

‘नसर्ने रोग यदि प्रारम्भिक अवस्थामै पत्ता लगाई सोही समयमै व्यवस्थापन गर्न सके यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ’, प्रमुख न्यौपानेले भने । उनले बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्क÷वृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिनेसमेत बताए । उनका अनुसार पछिल्लो समयमा अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोगलगायतका रोग बढ्दो क्रममा छ । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा धेरै जनाले यसलाई बेवास्ता गरिरहेका छन् । ‘पहिलो हैजा झाडापखालालगायत अन्य सरुवा रोगले मानिस पर्ने गरेका थिए तर अहिले नसर्ने रोग सुगर प्रेसरले मानिस मर्ने गरेका छन्, यसैको पहिचान समयमै गरेर जीवन बचाउने हाम्रो अभियान हो’, न्यौपानेले भने ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाले तुलसीपुरका–७ स्थानमा आठ सय ४४ जनामा गरेको नसर्ने रोगको स्क्रिनिङ शिविरमा सबैभन्दा धेरै अधिक तौल भएका व्यक्ति तथ्याङ्कले देखिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को नयाँ बसपार्क, वीपी चोक, तुलसीपुर–११ को उरहरी, तुलसीपुर–१८ को मानपुर, तुलसीपुर–१३ र तुलसीपुर–८ को कृष्णमन्दिरमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा उच्चरक्तचाप भएका बिरामी एक सय ४२ जना, मधुमेह भएका एक सय ४१ र सामान्य दुई सय १५ जना भेटिएको जनस्वास्थ्य अधिकृत बिमल केसीले जानकारी दिए । यसैगरी ५० जनालाई रिफरसमेत गरिएको छ ।

रिफर हुनेमध्ये तुलसीपुर–१८ मानपुरका धेरै छन् । सो स्थानमा गरिएको स्क्रिनिङमा २० जनालाई अस्पतालमा रिफर गरिएको थियो । जनस्वास्थ्य अधिकृत केसीले नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको बताए । ‘सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन्’, केसीले भने । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने भन्दै पालिकाले शिविरमार्फत् विभिन्न सचेतना दिएको समेत बताए ।

यस नसर्ने रोगको स्क्रिनिङ शिविरले उपमहानगरपालिकाको आगामी स्वास्थ्य नीति निर्माणका लागि सहयोग पुग्ने बताए । ‘हाम्रा नगरमा कस्तो समस्या छन्, केमा हामी केन्द्रित हुनुपर्छ भन्ने कुरा यसले तय गर्ने छ’, न्यौपानेले भने । यसैगरी जनस्वास्थ्य प्रवर्धन शाखाले मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत गर्भवती आमाका लागि निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा कार्यक्रममा तीन सय ८७ जना आमाको गर्भवती जाँच गरेको छ । २० वर्ष माथिका तीन सय ४२ र २० वर्ष मुनिका ४५ जनाको गर्भपति जाँच सेवा दिएको छ ।

यसैगरी नगरका आठ स्थानमा एक हजार एक सय पाठेघर क्यान्सर स्क्रिनिङ गरेको जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ । भिआइए गर्दा १६ जना पाठेघरको क्यान्सरको सङ्खा देखिएको र अन्य २६ जना महिलामा आङ खस्ने समस्या देखिएको जनस्वास्थ्य अधिकृत बिमल केसीले जानकारी दिए । नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रूपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ ।

नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । यसैगरी दिगो विकास लक्ष्यले समेत एकतिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ । सोही नेपाल सरकारको नीतिलाई सघाउन तुलसीपुर उपमहानगरपालिकाले कार्यक्रम सुरु गरेको केसीको भनाइ छ ।