calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

आयाम सहकारी आफ्नै भवनमा, किसानमा नयाँ आयाम थप्दै

टेकबहादुर पुन
देउखुरी,२५ वैशाख । देउखुरीस्थित आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा विस्तारको थालनी गरेको छ।

गढवामा केन्द्रित रही दाङ जिल्लाभर सेवा दिँदै आएको आयाम सहकारीले सुविधासम्पन्न भवनमार्फत नागरिकलाई सेवा दिन थालेको हो। बुधबार आयोजित विशेष समारोहबीच लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उक्त भवनको उद्घाटन गरेका हुन्।

समारोहमा बोल्दै प्रमुख अतिथि थारुले सहकारीलाई ग्रामीण विकासको मेरुदण्डको रूपमा व्याख्या गर्दै राज्य र नागरिकबीचको पुलको रूपमा भूमिका निर्वाह गरिरहेको बताए। “स्थानीय उत्पादन, रोजगारी र वित्तीय पहुँचको माध्यम बनेका सहकारीहरूले सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिन सक्छन्,” उनले भने, “त्यसैले राज्यले सहकारी क्षेत्रलाई नीतिगत संरक्षण र प्रवर्द्धनमा निरन्तर साथ दिनुपर्छ।”

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलले सहकारी आन्दोलनलाई स्थानीय सरकारको अभिन्न साझेदारको रूपमा उल्लेख गर्दै गढवाको समग्र विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताए। “सहकारीमार्फत युवाहरू स्वरोजगारतर्फ आकर्षित हुनु सकारात्मक संकेत हो,” उनले भने।

सहकारीका अध्यक्ष ओम प्रकाश बसेलले संस्थाको विकासलाई संस्थागत बनाउने उद्देश्यले नयाँ भवन निर्माण गरिएको जानकारी दिँदै सुरुमा सानो रूपमा स्थापना भए पनि अहिले संस्था वित्तीय रूपमा सबल बन्दै गएको बताए। “नयाँ भवनमार्फत अझ व्यवस्थित सेवा दिने हाम्रो लक्ष्य छ,” उनले स्पष्ट पारे।

दुई तल्ले आधुनिक संरचनायुक्त भवनमा सदस्य सेवा कक्ष, लेखा शाखा, ऋण तथा बचत विभाग, व्यवस्थापन कक्ष, बहुउद्देश्यीय हल, अभिलेख कक्ष र विश्राम कक्ष लगायतका सम्पूर्ण भौतिक पूर्वाधार समेटिएका छन्। भवनको डिजाइन स्थानको भौगोलिक अवस्था, भविष्यका विस्तार योजना तथा सदस्यहरूको पहुँचलाई मध्यनजर गर्दै तयार गरिएको हो। साथै, स्वच्छ शौचालय, पिउने पानी, सौर्य ऊर्जा प्रणाली र सीसीटीभी जडानको व्यवस्था गरिएको छ।

सहकारी क्षेत्रलाई पारदर्शी, जिम्मेवार र दिगो बनाउने दिशामा सबै पक्ष एकजुट हुनुपर्नेमा वक्ताहरूको जोड थियो। अन्य वक्ताहरूले सहकारीले गाउँघरमै सेवा पुर्‍याएर वित्तीय समावेशीकरणमा उल्लेखनीय काम गरिरहेको भन्दै अझ मजबुत बनाउन नेतृत्वको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा अध्यक्ष बसेलले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकारीको सामाजिक उत्तरदायित्व विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। सहयोगमा हातेमालो गर्ने मनकारीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

संस्थाकी प्रबन्धक सीता नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चेतनशिस समाज गढवाकी अध्यक्ष सकुन्तला डिसी, गढवा उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, गढवा गाउँपालिका स्तरीय सहकारी संस्थाका अध्यक्ष बेगम गहतराज लगायतले आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रम सहकारी अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
आयाम सहकारीले कृषकमा नयाँ आयाम थप्दै

आर्थिक रूपान्तरणको अभियानमा सशक्त रूपमा अघि बढिरहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अहिले दाङ क्षेत्रको एक प्रेरणादायी सहकारी मोडेलका रूपमा स्थापित हुँदै गएको छ। २०७२ सालमा स्थापना भएको संस्थामा हाल ३१३० भन्दा बढी शेयर सदस्य आबद्ध छन्। गढवामा केन्द्र बनाएर देउखुरीका लमही, राजपुर, राप्ती लगायतका क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ।

सुरुवाती दिनमा सीमित स्रोतसाधनबाट सुरु गरिएको संस्थाले हाल बचत, कर्जा, उद्यम प्रवर्द्धन, कृषि सहुलियत, महिला सशक्तिकरण, सीप विकास तथा सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। २०७४ सालदेखि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आइरहेको यस संस्थाले नागरिकलाई छिटो र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।