भालुबाङ,२३ बैशाख । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले आजको युगमा सामन्ती व्यवस्था स्वीकार्य नहुने बताएका छन् ।
‘गणतन्त्रको रक्षा गरौं, प्रतिगामी खतराविरुद्ध संघर्ष गरौं’ भन्ने नारासहित राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका, दाङद्वारा भालुबाङमा मंगलबार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष खत्रीले बर्तमान युग लोकतन्त्र र नागरिक सर्वोच्चताको भएको बताएका हुन।
उनले भने, ‘आजको युगमा कसैको वंश, परिवार वा सन्तान भएको नाताले मात्र नेतृत्व गर्न पाइँदैन। नागरिक स्वतन्त्रता, समानता र सहभागिताको सुनिश्चितता नै गणतन्त्रको सार हो।’ खत्रीले प्रतिगामी शक्तिहरूको चलखेललाई निष्क्रिय पार्न जनस्तरबाट सचेतना फैलाउनु जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा नेकपा (मसाल) दाङका जिल्ला प्रवक्ता भरत भण्डारीले राजतन्त्रको बाँकी रहेको झल्को चैत्र १५ गते तिनकुनेबाट समाप्त भइसकेको बताए। उनले भने, “पुराना पञ्चहरूले पुरानो स्वर्ग फिर्ता ल्याउने सपना चैत्र १५ को आन्दोलनले समाप्त गरिसकेको छ।”
त्यसैगरी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले गणतन्त्र स्थापनापछि सत्ता सम्हालेका दलहरूकै भ्रष्ट र गैरजिम्मेवार प्रवृत्तिका कारण गणतन्त्रविरोधी धारणा फेरि मौलाएको बताए । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका सचिव दलबहादुर घर्तीले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष गिरबहादुर पौडेलले गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रेम नारायण आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केसबराज खनाल, राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेश रिजाल, जिल्ला सदस्य चम्फा भुसाल, हुमा मास्के, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य चन्द्रप्रकाश आचार्य, किसान महासंघका केन्द्रीय सदस्य विष्णु आचार्य, महिला संघ दाङकी उपाध्यक्ष कमला बेल्बासे, राप्ती उद्योग वाणिज्य संघका सदस्य तथा राप्ती इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायी संघका अध्यक्ष हरी खडका, भालुबाङ होटल व्यवसायी संघका उपाध्यक्ष पुनाराम भुसाललगायतको उपस्थिति रहेको थियो।