निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

टेकबहादुर पुन
देउखुरी, २१ वैशाख । लमही नगरपालिका वडा नं. ७ ले युवा विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सरकारी सेवामा प्रवेश गर्न चाहने युवालाई सहयोग पु¥याउने उद्देश्यले लोकसेवा तयारी कक्षा सुरु गरिएको लमही नगरका प्रवक्ता तथा लमही–७ का वडाध्यक्ष मोहन गिरीले बताए ।

कार्यक्रम उद्घाटन गर्दै उनले युवाको भविष्य निर्माणका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिएको बताए । उनले भने, ‘हाम्रा युवालाई सरकारी सेवामा प्रवेश गराउन सशक्त आधार तयार पार्न हामीले निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याएका हौँ ।’ वडाध्यक्ष गिरीले युवाहरूमा योग्यता रहेको र उनीहरूलाई मार्गदर्शन अनि अवसर चाहिएको बताउँदै यस कक्षाबाट धेरै युवाले आफ्नो लक्ष्य हासिल गर्न सक्ने आशा लिएको बताए ।

दुई महिनासम्म सञ्चालन हुने लोकसेवा तयारी कक्षा वडा कार्यालयमा चलिरहेको छ । न्यू भिक्टोरिया ट्युसन सेन्टर लमहीले कक्षाको जिम्मा पाएको छ । तालिममा वडा अन्तर्गतका ४० जना युवा विद्यार्थी समावेश छन् । वडाले हाल सञ्चालनमा रहेको लोकसेवा तयारी कक्षा र कम्प्युटर कक्षामा वडाबासी मात्र नभई नगर अन्तर्गतका ईच्छुक विद्यार्थी पनि समावेश हुन सक्ने जानकारी दिएको छ । सहभागी विद्यार्थीले यस्तो निःशुल्क र स्तरीय तालिमप्रति आभार व्यक्त गरेका छन् । वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य उर्मिला चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी हुन् । कार्यक्रमको सञ्चालन वडासचिब शेरबहादुर चौधरीले गरेका थिए ।

विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

लमहीमा विद्यार्थीलाई दुई महिने निःशुल्क कम्प्युटर तालिम सुरु गरिएको छ । लमही नगरपालिका–७ को आयोजना र द सुपर कम्प्युटर एण्ड ट्रेनिङ एकेडेमी लमहीको सहकार्यमा तालिम सुरु भएको हो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष मोहन गिरीले सूचना प्रविधि अहिलेको आवश्यकता मात्र नभई जीवनशैली बनेको बताएका छन् । कम्प्युटर तालिमको उद्घाटन गर्दै सूचना प्रविधिमा बढ्दो आवश्यकता र उपयोगितालाई ध्यानमा राख्दै युवालाई डिजिटल सिप प्रदान गर्न तालिम आयोजना गरिएको बताए ।

‘आजको युग प्रविधिको युग हो । हाम्रा विद्यार्थी युवालाई दक्ष बनाउने जिम्मेवारी स्थानीय तहको हो’, उनले भने । वडाध्यक्ष गिरीले कम्प्युटर एडभान्स तालिमले युवा स्वरोजगारका लागि कोशे ढुंगा बन्ने बताए । कम्प्युटर सिपले आजको युगमा मनग्य कमाउन सकिने बताउँदै उनले सिप सिकेर भविष्यमा व्यावसायिक बन्नुका साथै आयआर्जनमा जुट्न आग्रह गरे ।

आर्थिक स्थिति कमजोर भएका विद्यार्थी त्यसैमा टाढा गएर कम्प्युटर पढ्नु पर्दा समस्या हुने गरेकाले वडा कार्यालयले बजेट विनियोजन गरेर निःशुल्क कम्प्युटर तालिमको आयोजना गरेको बताएका थिए । तालिममा सहभागी लमही नगरपालिका–७ उचानिम्बु निवासी एलिसा चौधरीले निःशुल्क रूपमा कम्प्युटर तालिम पाउँदा खुसी भएको बताइन् । आर्थिक स्थिति कमजोर भएकै कारण कम्प्युटर चलाउने रहरबाट बञ्चित भएको भन्दे उनले वडाले आयोजना गरेपछि कम्प्युटर सिक्ने चाहना पूरा भएको बताएकी थिइन् ।

उनी जस्तै लमही नगरपालिका–७ कमानपुर निवासी शिशिर पुनमगर पनि कम्प्युटर चलाउन र सिक्न पाउँदा खुसी व्यक्त गर्छन् । कम्प्युटर शिक्षा आजको आवश्यकता भए पनि आर्थिक रूपमा कमजोर हुँदा सिक्न नपाएको भन्दै वडा कार्यालय तालिमको व्यवस्था गरिदिएपछि सहजिलो भएको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले यस्ता सिपमूलक कार्यक्रमले बेरोजगार युवालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिममा वडा नं.७ का २ सय विद्यार्थी सहभागी रहेका छन् । तालिममा बेसिक र डिप्लोमा अन्तर्गतका आधारभूत सिपदेखि इन्टरनेट प्रयोग, माइक्रोसफ्ट अफिस, टाइपिङ, डिजिटल सञ्चार आदिसम्मका विषयमा प्रशिक्षण दिइने छ । वडासदस्य उर्मिला चौधरीले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडासचिव शेरबहादुर चौधरीले गरेका थिए ।