घोराही मेयर कप क्रिकेट, उपाधि वडा नं. १३ लाई

घोराही, १६ बैशाख । घोराहीमा भएको अन्तर वडास्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. १३ ले उचालेको छ । घोराही खेलकुद विकास समितिको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोग एवम् समन्वयमा मंगलबार भएको फाइनल खेलमा वडा नं. १३ ले वडा नं. ६ लाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा वडा नं. ६ ले दिएको ८८ रनको मध्यम लक्ष्य वडा नं. १३ ले पाँच विकेटको क्षतिमा पूरा गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिले व्याटिङ गरेको वडा नं. ६ ले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनायो । वडा नं. ६ का लागि भावेश अधिकारीले सर्वाधिक १४ रन मात्र जोड्न सफल भएका थिए । त्यसैगरी गिरीराज नेपाली १० रनमा अविजित रहँदा आकाश पाण्डेले रन बनाएर आउट भए ।

किशन भारतीले ११ रन, वीरबहादुर घर्तीले ८ रन जोड्नु बाहेक अरु खेलाडी सस्तैमा समेटिए । वडा नं. ६ लाई थोरै रनमा समेट्न सुशान्तसिंह थापाले चार विकेट लिँदा अमृत घर्तीले २ विकेट लिए । शुभम खनाल, मनोज पुन र दिनेश बोहराले समान १–१ विकेट लिए । ८८ रनको विजयी लक्ष्य पछयाउँदै ब्याटिङ गरेको वडा नं. १३ ले १५ ओभरमा पाँच विकेटको सहज जीत निकाल्यो ।वडा न १३ का लागि शुभम खनालले अविजित ३८ रन बनाउँदै जीत दिलाए ।

सुशान्त सिंह थापाले ११ रन, मनोज पुन र अमृत घर्तीले ७–७ रन बनाउँदा कैलाश घर्तीले ८ रन बनाए । वडा न ६ का वीरबहादुर घर्ती, दक्ष ठाकुर, किशन भारती र केशव शर्माले समान १–१ विकेट लिएका थिए । प्रतियोगितामा १ विकेटसहित अविजित ३८ रन बनाउँदै वडा न १३ लाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका शुभम खनाल प्लेयर अफ द म्याच भए । प्रतियोगिता समापनका अवसरमा एक कार्यक्रम गरी विजेता टीम वडा न१३ लाई नगद ४० हजार, शील्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेता बनेको वडा न ६ को टीमलाई नगद २० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट वडा नम्बर १३ सुशान्त सिंह थापा भए । उनलाई नगदसहित ट्रफी प्रदान गरिएको छ भने बेष्ट बलर वडा नम्बर १३ शुभम खनाल, बेष्ट ब्याटर वडा नम्बर ६ का आकाश पाण्डे, इमर्जिङ प्लेयर वडा नम्बर १५ का प्रिन्स थापा भएको अन्तर वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता संयोजक देवबहादुर भण्डारीले जानकारी दिएका छन् । वडा तहहबाटै प्रतिष्पर्धा गरी खेलाडी उत्पादन गर्न र क्रिकेटको विकासका लागि घोराही खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्दै आएको समिति संयोजक नरेन्द्र पुनले बताएका छन् । प्रतियोगितामा दश वडाका टिमको सहभागीता रहेको थियो ।