दाङ बैशाख २१ । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता दिवसका अबसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना मन्तव्य दिदै देउवाले प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टी राख्न मिल्दैन नमिल्ने तर्फ ध्यानाकर्षण समेत गराएका छन् । ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ? वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र ब्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रुपले अपील गर्न चाहन्छु’ देउवाद्वारा जारी गरिएको लिखित मन्तव्यमा भनिएको छ ।
उनले युनेस्कोको यस बर्षको नार ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै ‘त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको हो’ भनेका छन् ।
‘पत्रकार र मिडिया यतिबेला दुई खालका चुनौतीबाट गुज्रिरहेका छन्’ उनले भनेका छन्, ‘कोभिड १९ को बिश्व महामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको ब्यवहारिक ब्यवस्थापनमा चुनौती ल्याएको छ । बिज्ञापन देखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसविचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् । अतः कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न म सरकारसंग आग्रह र माग गर्दछु ।’ सभापति देउवाले जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेका छन् ।
महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको र यसका केही संकेत सरकारका अभिव्यक्ति र ब्यवहारमा देखिएको भन्दै उनले भनेका छन् ‘संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छंदैथिए, लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ । लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंग माथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै नेपाली कांग्रेस सदैव त्यस विरुद्ध प्रखर रुपले उभिने छ ।’
नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउंदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा एक्यवद्धता प्रकट गर्दै देउवाले प्रेस स्वतन्त्रताको लामो इतिहासमा साहदत प्राप्त गनेहरुप्रति सम्मान समेत व्यक्त गरेका छन् ।