ग्लोकमा र फेको सर्जरी डा शाहलाई स्वागत

गोरक्ष समाचारदाता
तुलसीपुर, ७ वैशाख । राप्ती आँखा अस्पतालमा अब अन्य विशिष्टकृत सेवासँगै आँखाका बिरामीले विशेषज्ञ ग्लोकमा (जलविन्दु) को सेवा पाउने भएका छन् । अस्पतातालमा ग्लोकमा र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका सहायक प्रा.डा रञ्जीतकुमार शाह आएसँगै अब ग्लोकमाको सेवा आँखाका बिरामीले पाउने भएका हुन् । अब ग्लोकमाको उपचार शल्यक्रियासँगै अन्य परामर्श सेवा दैनिक पाउने छन् ।

त्यसैबिच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतमको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ग्लोकमा सर्जन सहायक प्रा.डा. रञ्जीतकुमार शाहलाई स्वागत गरिएको हो ।

अस्पताल व्यवस्थापन समिति, प्रशासनिक समिति, तथा राप्ती आँखा अस्पतालका कर्मचारीले शाहलाई स्वागत गरेका हुन् । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालन भएका अस्पतालमा विशेषज्ञ सहित विशिष्टकृत सेवा प्रवाह गरी गुणस्तरीय सेवाका लागि आफूहरू लागेको भन्दै थप विशेषज्ञ डाक्टर आउने बताए ।

‘हामीहरूले अस्पतालमा सबै विशेषज्ञ सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्नेमा लागेका छौँ सबै आँखाको सेवा जिल्लामा मै पाउने छन्, अब ग्लोकमा सेवाका लागि डाक्टर आउनु भएको छ’ अध्यक्ष गिरीले भने । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखा उपसभापति रेशमबहादुर खड्का, सचिव घनश्याम सुवेदी, सहकोषाध्यक्ष प्रणवकुमार खड्का, सदस्य सुरेन्द्रबहादुर खड्का, लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाहले डा. शाहलाई स्वागत गर्दै यहाँका आँखाका बिरामी तथा सेवाग्राहीले अब ग्लोकमाका साथै अन्य आँखा सम्बन्धी सेवा पाउने बताए ।

त्यस्तै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. शम्शेर थापाले आँखाको विशेषज्ञ सेवासँगै अस्पताललाई नेत्रविज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न आफूहरूले योजना ल्याएको भन्दै डा. शाहले एकाडेमिक क्षेत्रको समेत नेतृत्व गर्ने बताए । ‘उहाँको ग्लोकमा र फेको सर्जरीमा विशेषज्ञतासँगै एकाडेमीक र प्रशासनमा समेत धेरै दखल छ अब एकाडेमीक क्षेत्रको विकासमा पनि उहाँले अहम भूमिका खेल्नु हुने छ’ डा. थापाले भने ।

कार्यक्रममा प्रा.डा प्रदीप बास्तोता, छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालका प्रमुख नेत्रविशेषज्ञ डा. सुलक्ष्मी कटुवाल, राप्ती आँखा अस्पतालका नि.प्रशासक शालिकराम गौतमलगायतले सबैका साथ र सहयोगले मात्र आँखा अस्पतालको विकास विस्तार र विशेषज्ञ सेवा दिन सकिने भन्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । राप्ती आँखा अस्पतालमा दैनिक अन्य विशिष्टकृट सेवासँगै अब ग्लोकमा र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका डा. शाहद्वारा (जलविन्दु) सँगै आँखाको सम्पूर्ण सेवा बिरामीले पाउने भएका छन् ।