लीलाधर वली
दाङ, ८ वैशाख । घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित प्राचिन एवम् पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा धर्मशाला निर्माण हुँदै छ । पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले पर्यटन डिभिजन कार्यालय कोहलपुरमार्फत् चौघेरामा करिब पाँच करोडको लागतमा सुविधा सम्पन्न सभा हलसहित ३० कोठे तीनतले धर्मशाला निर्माण गत वर्षदेखि सुरु भएको हो ।
बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन थालेको धर्मशालाको गत वर्ष ३० लाख रुपैयाँबाट फाउन्डेसन र पिल्लर राख्ने काम गरिएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले जनाएको छ । धर्मशाला निर्माण भएपछि गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा पूजापाठ तथा ऐतिहासिक पक्षको अध्ययन गर्न आउने भक्तजनसँगै साधुसन्तलाई सहजता हुने छ । गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको विकासका लागि आर्थिक वर्ष २०७९÷०८० मा बनेको गुरुयोजना अनुसार धर्मशालासँगै योगी नरहरीनाथ अध्ययन केन्द्र, गौशाला, समाधिस्थल, पार्क, डिपबोरिङलगायतका संरचना निर्माण हुने छन् । संरचना निर्माण भएपछि जिल्लाकै प्रसिद्ध धार्मिकस्थल चौघेरको विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी थारू जातिको मौलिक कला र संस्कृतिको संरक्षणसँगै बजार प्रवर्धन गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–८ को सौरीमा ‘ठाँटीघर’ निर्माण हुने भएको छ । करिब चार वर्षअघि शिलन्यास भएको ठाँटीघर निर्माणका लागि ठेक्का खोल्ने तयारी भइरहेको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनालले बताएका छन् । बहुवर्षीय योजना अन्तर्गत करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । थारू जतिको मौलिक कला र संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नका लागि ठाँटी घर निर्माण हुन थालेको छ ।
पर्यटन प्रवर्धनका लागि जिल्लामा पूर्वाधारलगायतका ६१ वटा साना तथा ठुला योजना रहेको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका निमित्त कार्यालय प्रमुख खनालले बताएका छन् । कार्यालय प्रमुख खनालका अनुसार जिल्लामा पर्यटन पूर्वाधार विकासअन्तर्गत घोराही उपमहानगरपालिका–१८, घोरदौरामा नाँचघर, घोराही उपमहानगरपालिका–१३, बाह्रकुने दहको स्तरवृद्धि, घोराही उपमहानगरपालिका–५ धारापानीमा पाण्डवेश्वर धार्मिक धाममा पार्क निर्माण र पोखरीलगायत मन्दिर, उद्यान, नाँचघर, ठाँटीघर, संग्रहालय, बोटानिकल पार्कलगायतका योजना रहेका छन् ।
पर्यटन प्रवर्धनका लागि चालु आर्थिक वर्षमा यी योजनामा करिब आठ करोड रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख खनालले जानकारी दिए । ६१ वटा योजनामध्ये आधाभन्दा धेरै योजनामा काम भइरहेपनि कतिपय योजना न्यून बजेट, निर्माणका क्रममा विवादलगायतका कारण रोकिएका छन् । बजेट विनियोजन भएका योजनाको निर्माणको काम भइरहेको भन्दै कार्यालय प्रमुख खनालले भने,‘दाङमा धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व बोकेका ठाउँको विकासका लागि काम भइरहेका छन् । पूर्वाधार विकासले उक्त ठाउँको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।’ उक्त बजेटमध्ये हालसम्म करिब ५० प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
जिल्लामा बाह्रकुने दहको विकास, घोरदौरामा नाँचघर निर्माण, बोटानिकल पार्क निर्माणलगायतका योजना महत्वपूर्ण र पुराना भए पनि विवादका कारण काम अघि बढ्न सकेका छैनन् । जिल्लाको पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने ठुलो लगानीका योजना अघि बढ्न नसक्दा स्थानीयमा योजना कार्यान्वयनमा अलपत्र पर्ने हुन् कि भन्ने नागरिकमा आशंका उत्पन्न भएको छ ।