Goraksha

National Daily

महिलामाथि कुटपिटको घट्ना : दोषीलाई कारबाही, पीडितलाई न्यायको माग

गोरक्ष समाचारदाता
दाङ, १६ चैत । दाङमा क्रियाशील मानव अधिकारसम्बन्धी संघसंस्थाहरूले घोराही उपमहानगरपालिका–१० निवासी २६ वर्षीया एक महिलामाथि कुटपिटमा संलग्नलाई कारबाहीसँगै पीडितलाई न्याय र उपचारको माग गरेका छन् । मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षकहरूको सञ्जाल, नागरिक समाज, नेपाल पत्रकार महासंघ, इन्सेक, अन्तरपार्टी महिला सञ्जाललगायतका संघसंस्थाहरूले शुक्रवार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विद्युतको पोलमा बाँधेर मरणासन्न हुने गरी कुटपिट भएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका हुन् ।

घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाहीको माग गर्दै मानव अधिकार संगठनहरू, नेपाल पत्रकार महासंघ, नागरिक समाज, महिला मानव अधिकार रक्षक संघलगायतका संस्थाले संयुक्त रूपमा माग गरेका छन् । मानव अधिकार सञ्जाल दाङका सदस्य रिुनोद केसी, महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य सुशीला पौडेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जाल दाङकी अध्यक्ष प्रमिता चौधरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सहसचिव सरस्वती सुवेदी र महिला अधिकारकर्मी खुमा खड्काले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा मानव अधिकारसम्बन्धी घटनामा संलग्नलाई कानून बमोजिम कारबाही र पीडितलाई उपचारको व्यवस्था गर्ने भनिएको छ ।

कानूनलाई चुनौती दिने गरी भएको घटनाले जिल्लामा मानव अधिकारको अवस्था उजागर गरेको भन्दै विज्ञप्तिमार्फत् अधिकारकर्मीले पीडितलाई उचित उपचारको व्यवस्थासँगै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । चैत ९ गते शनिवार साँझ घोराही उपमहानगरपालिका–११ चाँघुमा महिलामाथि निर्घात कुटपिट भएको थियो । चाँघु निवासी २८ वर्षीय गोपाल चौधरी, २८ वर्षीय शिवकुमारी चौधरी र २८ वर्षीया हिरामती चौधरीलगायतले ती महिलालाई विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते पीडित महिलालाई घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरेको छ ।

कुटपिटबाट पीडित महिलाको दुवै आँखा, छाति, घाँटी र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । पीडित महिलाको दुवै आँखाको नानीमा रगत जमेको र छातिमा चोट लाग्दा श्वासप्रश्वासमा समस्या देखिएको छ । पीडितको उपचार र न्यायका लागि पहल गर्नुपर्ने भए पनि अमानवीय व्यवहारको घटनामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिकै रोहवरमा घटनालाई थामथुम गरी प्रहरी कार्यालयमै मिलापत्र गर्ने कार्यको विज्ञप्तिमार्फत् घोर भ्रत्र्सना गरिएको छ । वडा नं. १० कै एक कृषि फर्ममा काम गर्ने महिलालाई मायाप्रेमको प्रलोभन देखाएर घर बोलाइएको र घरमा जाँदा चोरको आरोप लगाएर निर्घात कुटपित भएको थियो ।

कुटपिटको घटनालाई ७० हजार रुपैयाँ पीडित परिवारलाई दिएर मिलापत्र गरिएको थियो । तर महिलालाई विद्युतको पोलमा बाँधेर कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमार्फत् १४ गते सार्वजनिक भएपछि महिला अधिकारकर्मीको सहयोगमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो । पीडित परिवारले जाहेरी दिएपछि घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।