Goraksha

National Daily

घोराहीमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्राईलाई कालो झण्डा देखाएर बिरोध

घोराही,१४ चैत । भुत भइसकेको राजतन्त्र फर्किएर आउन नसक्ने बताउनुभएका पूर्व प्रधानमन्त्री एव नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बावुराम भट्टराईलाई युवाहरुले कालो झण्डा देखाएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लुम्बिनी प्रदेशले दाङको घोराहीमा आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभार ः बैकल्पिक राजनीतिको औतित्य र आधार’ विषयक कार्यक्रमलाई सम्वोधनका लागि आउनुभएका पूर्व प्रधानमन्त्री भटराईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संघले घोराहीमा कालो झण्डा देखाएका हुन ।

घोराही उपमहानगरपालिका–१५ स्थीत पूर्व प्रधानमन्त्री भट्टराई बसेको होटल सिटी प्लाजा अगाडी सडकमा युवा संगठनका सदस्यहरुले कालो झण्डा देखाउँदै बिरोध गरेका हुन् । युवाहरुको समुहले विहीवार दिउँसो कालो झण्डा देखाउँदै भट्राई बिरुद्ध नारावाजी गरेका थिए ।

‘संघीयता, धर्मनिरिपेक्षा खारेज गर’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाउँदै बिरोध गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाएको थियो । उनीहरुले बिरोध गरिरहदा पूर्व प्रधानमन्त्री भट्राई होटेलभित्र कार्यक्रममा सहभागी हुनुुहुन्थ्यो ।