‘अभिभावक सचेत बनौँ’

गोरक्ष समाचारदाता
दाङ, १० चैत । घोराही स्थित भ्यालीटप बोर्डिङ स्कुलले वृहत अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरी बालबालिकाको शैक्षिक गुणस्तरका लागि विद्यालय छनोटमा ध्यान दिन अभिभावकलाई आग्रह गरेको छ । शैक्षिक सत्र सुरु हुन लाग्दा विद्यालयले अभिभावकलाई भेला गरी आफ्ना बालबालिकालाई भर्ना गर्नु अघि विद्यालयबारे सम्पूर्ण कुराको जानकारी लिएर मात्र बालबालिकालाई उक्त विद्यालयमा भर्ना गर्न आग्रह गरेको हो ।

बालबालिकामा सकारात्मक परिवर्तन र दक्ष जनशक्ति उत्पादनका लागि विद्यालयको शैक्षिक वातावरण अनुकूल हुनुपर्ने भएकाले त्यसका लागि अभिभावक चनाखो बन्नुपर्ने सरोकारवालाले बताएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणत्मण सम्बन्धबाट बालबालिकामा अपेक्षित उपलब्धि हासिल गर्न सकिने भन्दै त्यसका लागि विद्यालयले अनुकूल वातावरण निमार्ण गर्नुपर्नेमा सरोकारवालाले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् प्रशिक्षक रविन्द्र बस्नेतले बालबालिकाका लागि पहिलो शिक्षालय घर र पहिलो शिक्षक आमा भएकाले बालबालिकालाई संस्कार र शिक्षा कुन खालको दिने भन्ने कुराको सुरुवात घरपरिवारबाटै हुने बताए । बालबालिकाले विद्यालयभन्दा घरमा अधिक समय बिताउने भएकाले बालबालिकाको सम्पूर्ण आनीबानी तथा संस्कारजन्य व्यवहारमा अभिभावक चनाखो बन्नुपर्ने र विद्यालयले बालबालिका अनुकूल शैक्षिक वातावरण निर्माण गरिदिनु पर्ने बताए ।

प्रधानाध्यापक खुम केसीले विद्यालयका विभिन्न गतिविधिमाथि प्रकाश पार्दै विषय प्रवेश गराएको कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य गिरिराज शर्माले विद्यालयप्रति आशा र भरोसा गरेरअभिभावकले विद्यालयमा पठाएका बालबालिका अनुकूल शैक्षिक वातावरण निर्माण गर्नतर्फ विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक शर्माको अध्यक्षता एवम् अभिभावक भेलाका प्रशिक्षक रविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक हिरा विष्टले स्वागत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण शिक्षक दिनेश न्यौपानेले गरेका थिए ।