खानेपानी निर्वाचनमा आम निर्वाचनको झल्को
खेमराज रिजाल
तुलसीपुर, ३ चैत । शनिवार सार्वजनिक बिदासँगै उद्योग वाणिज्य संघले पनि शनिवार व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शनिवार सधैँ सुनसान हुने तुलसीपुर बजार यो शनिवार भने भरिभराउ देखियो । कारण तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नयाँ नेतृत्वका लागि निर्वाचन ।
तीन प्यानल बनाएर आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न मतदान प्रक्रिया भइरहँदा तुलसीपुरको अरनीको मैदान भरिभराउ भयो । नेपाल प्रहरीदेखि सशस्त्र प्रहरीहरू मतदान स्थलको सुरक्षामा खटिएका छन् । भव्य र सभ्य रूपमा मतदान सम्पन्न गर्न निर्वाचन समितिदेखि सुरक्षाकर्मी परिचालित छन् ।
मतदानका लागि मूलगेटबाट अरनीको मैदानमा प्रवेश गरेपछि कम्तिमा १५ वटा बुथ निर्माण गरिएका छन् । हरेक बुथमा निर्वाचन समितिका कर्मचारी बिहानैदेखि खटिएका छन् । बिहानै भालेको डाँकोसँगै कर्मचारी मतदान व्यवस्थापनका लागि अरनीको मैदान पुगे । बिहान साढेसात बजेदेखि नै अरनीको मैदान क्षेत्रका सडक भरिभराउ देखिए ।
निर्वाचनमा तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो निर्वाचन चिह्न अङ्कीत पोस्टकार्ड घाँटीमा भिरेर प्रवेशद्वारमै उभिएर भोट मागिरहेका थिए ।
तीन ठुला राजनीतिक दलले अध्यक्षलगायत प्यानल खडा गरेर उम्मेदवारी मनोनयन दर्ता गराएसँगै जिल्लास्तरीय राजनीतिक दलका प्रभावशाली नेताहरू पनि अरनीको मैदानकेन्द्रित थिए । आफ्नो पक्षमा कसरी नेतृत्व हात पार्ने भन्ने रस्साकस्सीमा दलका नेता, कार्यकर्ता र शुभेच्छुकदेखि पूर्वपदाधिकारी बिहानैदेखि अरनीको मैदानमा देखिन्थे । निर्वाचनमा नेपाली कांग्रेस एकलरूपमा चुनावमा होमिएको छ भने नेकपा एमाले र राप्रपाको संयुक्त प्यानल तथा नेकपा माओवादी केन्द्रको तर्फबाट प्यानलसहित सानादललाई समेत साथमा लिएर चुनावी मैदानमा छन् ।
संस्थाको निर्वाचन भएकाले यसलाई राजनीतिक दलले आम निर्वाचनमा भाग लिएको जसरी मूल्याङ्कन गर्न नसकिने मतदाताको तर्क छ । ‘यो निर्वाचन पार्टीको वर्चस्व कायम गर्ने राजनीतिक दलले भाग लिने आम निर्वाचन नभएर संस्थाको निर्वाचन हो, त्यसैले कसले जित हात पार्ने हो अनुमान गर्न सकिँदैन’, मतदान गर्न आएका मतदाता ललितले भने । यसमा दलगत भन्दा व्यक्तिगत प्रभाव बढी हाबी हुनसक्ने उनको तर्क थियो । मतदानको सेरोफेरोलाई हेर्दा राजनीतिक दल त्यति बढी क्रियाशील भएको भने नदेखिएको उनको भनाइ थियो ।
चुनावी प्रक्रिया भएकाले पार्टीले उम्मेदवार टुङ्ग्याएको मात्रै हो, प्रत्यक्ष रूपमा भने राजनीतिक दलहरू अपेक्षा अनुरूप परिचालित नभएको मतदाताले बताएका छन् । यसको अर्थ तुलसीपुर खानेपानीको निर्वाचनमा प्यानलगत नभएर व्यक्तिगत मत हाबी हुने देखिन्छ अर्थात् छिसमिसे नतिजा आउनसक्ने मतदाताहरूको अनुमान छ ।
‘यो जागरुकताले आम निर्वाचनकै झल्को दिएको छ’ यातायात व्यवसायी सञ्जय पराजुलीले गोरक्षलाइ भने । यो निर्वाचनको मतलाई राजनीतिक दलहरूले आफ्नो पकेट एरिया निर्धारण गर्न सहयोग पुग्ने पराजुलीको भनाइ थियो ।
यसैबिच तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि मतदान साँझ अबेर सम्पन्न भएको छ । कुल १० हजार नौ सय १७ मतदाता रहेकोमा जम्मा सात हजार एक सय ७५ मत खसेको छ । मतगणना शनिवार राति ९ बजेदेखि तुलसीपुर खानेपानीको कार्यालयमा हुने निर्वाचन संयोजक प्रदीप धितालले जानकारी दिएका छन् ।
बेलझुण्डी खानेपानीमा प्रदीप गौतमकै नेतृत्वमा सर्वसम्मत
साधारणसभा तथा अधिवेशन भएको करिब तीन सातापछि मात्रै बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरिएको छ । स्थानीय राजनीतिक दलका प्रमुख तथा पदाधिकारीले पटकपटकको छलफलपछि दलीय भागबण्डामा नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सर्वसम्मत नेतृत्व चयन भएको समितिको अध्यक्षमा प्रदीप गौतम, उपाध्यक्षमा मनकुमारी महत, सचिवमा मुक्तबहादुर वली मुकेश, कोषाध्यक्षमा वसन्त थापा र खुुल्ला सदस्यमा गोकर्ण पौडेल, मदन बस्नेत, तुलसीराम चौधरी, गिरिराज खड्का, प्रेमलाल चौधरी, महिला सदस्यमा मीना रोका, रास्ती बुढा, तिला मल्ल र ताराकुमारी राना मगर सर्वसम्मतिमा निर्वाचित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६, १७, १८ र १९ मा खानेपानी वितरण गर्दै आएको छ । संस्थाले एक हजार आठ सय धारा वितरण गरेको छ ।
यसैबिच सर्वसम्मत रूपमा नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम शुक्रवार साँझै सम्पन्न भएको छ । निर्वाचन अधिकृत नुमानन्द आचार्यको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीको प्रमुख आतिथ्यता र वडा नं १९ का वडाध्यक्ष प्रेमनाथ योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य यज्ञबहादुर बस्नेत, नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ वडा कमिटी अध्यक्ष कमानसिंह खड्का, नेपाली कांग्रेस वडा नं १९ वडासभापति पदम वली, नेकपा माओवादी केन्द्र वडा नं १९ वडा कमिटी अध्यक्ष दुर्गा विश्वकर्मा, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेत्रलाल प्राविका प्रधानाध्यापक शेरबहादुर खड्काले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
