सीता पौड्याल
चलिरहेको श्वास
एक्कासि रोकियो
पानी बोकेको बादल आएर
आँखामा ठोकियो
भारी छाती
वरिपरि चारैतिर छ अन्धकार
टाढासम्म सकिनँ देख्न
जहाँबाट तपाईंलाई
मात्र तपाईंलाई
देख्न मन लागेको छ मलाई
आमा !
यो महामारीको हुरीसँग
बँच्नु छ
आकाशबाट तारा टुटेर
खसेझै खस्नु छ
आफ्नै घरको आँगनमा मलाई
घरमा आउने सबै बाटाहरु बन्द छन्
मेरा लागि तैपनि
मलाई घर आउनु छ आमा
स्वदेश फर्कनु छ
मलाई आफ्नै जन्मभूमि
आउन रोक लगाइयो
काँडे तारले जसरी
अन्नबाली जोगाउन पशुलाई लगाइन्छ बार
भरिएको गह,
अनि
भारी शरीर लिएर
कति बस्नौ म परदेशमा ??
तपाईंको काखमा शिर राखेर
छातीभित्र बलियो गाठो पारेर
जतनका गरेर राखेको
पीडाको पोको फुकाउनु छ
बुबालाई छाँद हालेर बेस्सरी रुनुछ
एक पटक मलाई
मेरो स-साना कुराको ख्याल राख्ने
मेरी आमा
मलाई टाउको दुख्दा रातभरि
कुरेर बस्ने मेरी आमा
आज कोरोनाले संसार तहसनहस
पार्दै गरेको समाचार सुनेर
मानव लासका थुप्रो देखेर
कति आत्तिनु भएको होला
आभास छ मलाई यो कुराको
तपाईंको आतङ्कित मन
अनि
आफ्नो दुखेको छाती शान्त पार्न कै लागि
घर आउन जरुरी छ मलाई
घाम चर्कदा
पानी दर्कदा
अनि
आकाश गर्जदा
कहाँ र कस्तो अवस्थामा?
म बसेको छु भन्दै
मन भतभत पोलाउने मेरी आमा
आज पीडैपिडा बिच म
छट्पटाइ रहेको छु भन्ने कुराबाट
पक्कै हुनुहुन्न अनभिज्ञ
त्यसैले त फोनमा
सीमित कुरा गर्नु हुन्छ हिजोआज
उहाँलाई डर छ
कत्तै उहाँको मनभित्रको चित्कार
मैले सुन्छु कि भन्ने
आमा !!
म एक्लो छु यहाँ
नितान्त एक्लो
सात समुन्द्र पारी छु
पराइ भूमिमा
मलाई नेपाली भूमि छ टेक्नु
साथीभाइ छ भेट्नु
पराइ भूमिमा पसिना धेरै बगाइसकेँ अब
पुग्यो मलाई परदेश
यहाँ सिकेको कुरा
आफ्नो देशमा गरेर देखाउनु छ मैले
त्यसैले त मलाई घर आउन मन छ आमा
आमा!!!
मलाई जसरी नि घर आउनु छ
तर
मेरो देशको सरकारले
अहिले आउन दिन्न भन्छ
यो देशको सरकार आजै तेरो देश जा भन्छ
पराइले जा भन्छ
आफ्नाले नआइज अहिले भन्छ
तपाईं आफै भन्नुस् आमा
अब म के गरौ?
न म यहाँको भएँ
न त त्यहाँको
भन्नुस् न आमा यो अवस्थामा के गरौ?
एउटा भनाइ छ नि
आमाको पुकारलाई
यमराज देखि भगवानसम्मले सुनि दिन्छन्
हाम्रो देशको सरकारलाई पनि
भनिदिनुस् न आमा
विदेशमा भएका आफ्ना नागरिकलाई
आफ्नो देशमा आउन देऊ
सबैका छोराछोरी घर आउन पाउन
विछोडिएका परिवारलाई एक हुन देऊ
कत्तै दया पलाउँछ कि
एउटी आमाको पुकार सुनेर
निर्दयी सरकारलाई पनि
गरि दिनुस् आमा यति पुकार
ति तमाम छोराहरुको निम्ति
जसले यतिबेला भनिरहेका छन्
मलाई घर आउन मन छ आमा भनेर!!!