Goraksha

National Daily

स्ववियु निर्वाचन र विद्यार्थी अधिकार

रणबहादुर खड्का

शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थी हक अधिकारको संरक्षण र नेतृत्व विकासको माध्यमका रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उच्च शिक्षण संस्थाहरूका लागि अपरिहार्य संस्थान हो।

कुनै पनि विश्वविद्यालय वा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको साझा प्रतिनिधित्व गर्ने स्ववियु एक मात्र संस्था हो, जसले शैक्षिक गुणस्तर सुधार, समावेशी शिक्षा प्रणालीको प्रवर्द्धन र सामाजिक उत्तरदायित्व वहन गर्ने महत्वपूर्ण भूमिका खेल्छ।

क्याम्पस र विद्यार्थीहरूका लागि स्ववियुको महत्व

शिक्षा संस्थाहरू केवल भौतिक संरचनाले मात्र सम्पन्न हुँदैनन्स तिनका विद्यार्थीहरूले प्राप्त गर्ने गुणस्तरीय शिक्षाले नै ती संस्थाहरूको पहिचान निर्धारण गर्छ।

स्ववियुले विद्यार्थीहरूको समस्यालाई सम्बोधन गर्दै तिनका मागहरू प्रशासन र विश्वविद्यालयसँग समन्वय गरेर समाधान गर्ने काम गर्छ। कक्षाकोठामा प्रभावकारी पठनपाठन सुनिश्चित गर्ने, पुस्तकालयमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तथा शिक्षामा व्यावहारिक पक्षको जोड दिनेजस्ता विषयमा स्ववियुको हस्तक्षेप आवश्यक देखिन्छ।

विद्यार्थीहरूको अधिकारको रक्षा मात्र नभई, उनीहरूको नेतृत्व विकासका लागि स्ववियु एउटा प्रशिक्षण स्थल पनि हो। विद्यार्थीहरू यहाँबाट संगठनात्मक सीप सिक्छन्, सामाजिक उत्तरदायित्व बुझ्छन्, र लोकतान्त्रिक अभ्यासमा सहभागी हुन पाउँछन्। शिक्षामा हुने सम्भावित माफियाकरण, शुल्कमा अपारदर्शिता, तथा अन्य अनियमितताविरुद्ध कानुनी र संगठनात्मक रूपमा आवाज उठाउने संयन्त्र पनि स्ववियु नै हो।

समाजमा स्ववियुको योगदान

स्ववियुको भूमिकाले समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न उदाहरणहरू छन्। विद्यार्थीहरू सामाजिक न्यायका मुद्दाहरूमा सचेत रहनुपर्छ, र यही सचेतनाले समाज सुधारका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ। स्ववियुले शिक्षाको अधिकार सुनिश्चित गर्दै समाजमा शिक्षाको पहुँच बढाउने पहल गर्दछ।

उदाहरणका लागि, विभिन्न क्याम्पसहरूमा आर्थिक अभावका कारण पढाइ छोड्न बाध्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गराउने, विपन्न विद्यार्थीहरूलाई शिक्षामा समाहित गराउने, रक्तदान, सरसफाइ अभियान, तथा समाजमा सचेतना फैलाउने कार्यहरूमा समेत स्ववियु अग्रसर रहने गरेको छ।

शिक्षा सुधार र स्ववियुको भुमिका

नेपालको क्याम्पसहरूमा शिक्षाको गुणस्तर सुधार्न स्ववियुको योगदान उल्लेखनीय छ। कक्षा सञ्चालनमा पारदर्शिता ल्याउने, शिक्षक(विद्यार्थी सम्बन्ध सुधार्ने, र प्रशासनमा जवाफदेहीता स्थापित गराउने काम स्ववियु मार्फत सम्भव हुन्छ।

स्ववियु मात्र एउटा विद्यार्थी संगठन होइन, यो शिक्षाको रक्षा गर्ने सशक्त संस्था हो। जबसम्म विद्यार्थीहरू एकता, समानता, र न्यायका लागि संगठित भइरहन्छन्, तबसम्म शिक्षाको प्रभावकारिता बढ्दै जान्छ। त्यसैले, कुनै पनि विश्वविद्यालय वा क्याम्पसमा स्ववियु अनिवार्य रूपमा आवश्यकछ।

(लेखक अम्बिकेश्वरी क्याम्पसका स्ववियु सभापति हुन )