Goraksha

National Daily

दाङमा बर्सेनि बढ्दै मकै उत्पादन

अमरराज आचार्य
दाङ, २३ फागुन । दाङमा मकै उत्पादनमा वृद्धि भएको छ । उन्नत जातको बिउसँगै व्यावसायिक रूपमा मकै खेती गर्ने किसानको सङ्ख्या बढ्दा जिल्लामा पछिल्ला वर्षहरूमा मकै उत्पादनमा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सपुरजोन सुरु भएदेखि कृषकले व्यावसायिक मकै खेती गर्न थालेका हुन् ।

आम्दानी राम्रो हुने भएपछि मकै खेतीतर्फ कृषक आकर्षण बढेको छ । पहिले अन्य बाली लगाउने जमिनमा मकै खेती गर्न थालिएको छ । छोटो समयमा उत्पादन राम्रो लिन सकिने र बिक्रीमा समस्या नहुने भएपछि कृषक मकै खेतीमा आकर्षित भएका हुन् । जिल्लाको विगत ४ वर्षको तथ्याङ्क हेर्दा मकैखेती बढेको देखिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङमार्फत् सञ्चालन भएको मकै सपुरजोन सुरु भएदेखि कृषकले व्यावसायिक रूपमा मकै खेती गर्न थालेपछि उत्पादन बढ्दै गएको हो । आर्थिक वर्ष २०७७÷०७८ मा तीन हजार तीन सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकोमा २० हजार दुई सय ६२ मेट्रिक टन मखै उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङका सूचना अधिकारी चन्द शोभा कँडेलले जानकारी दिइन् । कृषकले रामपुर हाइब्रिड जातको मकै लगाउने गरेका छन् ।

उनका अनुसार आर्थिक वर्ष ०७८÷०७९ मा तीन हजार पाँच सय हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा १७ हजार आठ सय मेट्रिक टन मखै उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९÷०८० मा तीन हजार सात सय हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीबाट २६ हजार चार सय ५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । यसैगरी आर्थिक वर्ष ०८०÷०८१ मा तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीबाट ३२ हजार सात सय ९४ मेट्रिक टन मकै उत्पादन भएको परियोजना एकाइका सूचना अधिकारी कँडेलले जानकारी दिइन् ।

परियोजनामार्फत् नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राथमिकता दिइएको छ । कृषकलाई यही बिउ प्रयोग गर्न प्रोत्साहन गरिरहेको कँडेलले बताइन् । हाइब्रिड जात रामपुर हाइब्रिड १० को बिउ दाङमै उत्पादन हुन्छ । कार्यालयले ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने भएकाले धेरैजसो किसानले सोही बाली लगाउने गरेको सूचना अधिकारी कँडेल बताउँछिन् । कृषकले अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बिउ लगाएर खेती गर्ने गरेका छन् ।

अरुण–२ र रामपुर कम्पोजिट जातको बिउमा कार्यालयले अनुदान दिँदै आएको छ । सुपर जोन कार्यक्रम लागु भएपछि खेतीसँगै किसानको आम्दानीमा वृद्धि भएको छ । बाँझो रहेका जमिनको समेत सदुपयोग भएको परियोजनाले जनाएको छ । पछिल्लो समय किसानले हिउँदे, वसन्ते र वर्षे गरी तीन सिजनमा मकै खेती गर्ने गरेका छन् ।

किसानले हिउँदे सिजन अन्तर्गत असोज–कात्तिक, वसन्ते सिजन अन्तर्गत माघ–फागुन र वर्षे सिजन अन्तर्गत वैशाख–जेठमा मकै रोप्ने गरेका छन् । ‘केही वर्ष पहिलेसम्म वर्षमा एक सिजन मात्र मकै खेती गर्ने किसानले पछिल्लो समय २÷३ सिजन खेती गर्न थालेका छन्’, सुपरजोनका सूचना अधिकारी कँडेलले भनिन् । यसले किसानलाई मकै खेतीतर्फ आकर्षित गरेको उनले बताइन् । कार्यक्रमले किसानलाई प्राविधिक तथा अन्य सहयोग गर्दै आएको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न कृषिमा यान्त्रिकीकरणको प्रयोगसँगै मकै रोप्ने तरिका, सिँचाइसँगै किसानले उत्पादन गरेको मकैको बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ ।

यसैगरी कृषकलाई उद्यमशील बनाउन क्षमता विकास, कस्टम हायरिङ सेन्टर स्थापनासँगै यान्त्रिकीकरण सहयोगमा ५० प्रतिशत तथा सिँचाइ कार्यक्रममा अनुदान सहयोग गर्दै आएको छ । सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपलब्ध गराइएको छ । ६० हर्स पावरको ट्याक्टर, मल्टिक्रप सिड ड्रिल, मकै खोसल्ने र छोडाउने मेसिन, ज्याब प्लान्टर, मकै छर्ने हाते मेसिन, मकै गोड्ने मेसिन, चिस्यान मापक यन्त्र, सिपर, रोटाभेटर अनुदानमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

उत्पादन भएको मकै बिक्रीमा समेत समस्या नभएको कृषकहरू बताउँछन् । हरियो बोटबाटै मकै बिक्री हुने गरेको कृषक बताउँछन् । हरियोमै मकै बिक्री हुँदा मूल्य राम्रो पाउने गरेको उनीहरू बताउँछन् । कृषकहरूले मकैको प्रतिकोसा १० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मकै तयार भएपछि कुखुरा तथा गाईभैँसीका लागि दाना बनाउने उद्योगमा लैजाने गरिन्छ । दाना उद्योगले मकै किन्ने भएपछि कृषकहरूलाई सहज भएको छ । जिल्लामा उत्पादन गरिएको दाना बाहिरी जिल्लामा निर्यात हुने गरेको उद्योगीहरू बताउँछन् ।