Goraksha

National Daily

दुर्घटनामा गम्भीर घाइते चौधरीको मृत्यु

गोरक्ष समाचारदाता
दाङ, २३ फागुन । देउखुरीको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका गणेश चौधरीको मृत्यु भएको छ । लमही नगरपालिका–८, सतबरिया निवासी ३३ वर्षीय चौधरीको नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शनिवार राति करिब १०ः१५ बजे लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७, नयाँबस्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनापछि फरार रहेका मोटरसाइकलमा सवार ४२ वर्षीय सन्तबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी अमिलिया प्रहरी प्रमुख भवानीप्रसाद धमलाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा सन्तबहादुरले मोटरसाइकल चलाएको स्वीकार गरेका छन् । प्रहरीका अनुसार साँघुरो सडक, रातको समय र सडक छेउमा निर्माणका सामग्री राखिएकाले दुर्घटना भएको हुनसक्ने अनुमान छ ।