सुजनले पाए विमावाट उपचार खर्च
दाङ, २१ फागुन । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरा दाङका कक्षा ६ मा अध्धयनरत विद्यार्थी सुजन घर्ति क्षेत्री गत मंसीर ८ गते विद्यालय प्राङ्गणमा खेल्ने क्रममा लडेर घाईते भए । विद्यालय समय सकिएकोले उनी घर गए । उनलाई चोट लागेको विद्यालयलाई जानकारी भएन । दोस्रो दिन अभिभावकले अस्पतालमा उपचार गराए । उपचारको सम्पुर्ण खर्च विद्यालयलाई बुझाए । विद्यालयले वीमा कम्पनीमा बुझायो ।
सुजनको उपचारमा खर्च भएको रकम उनका अभिभावकलाई विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापक सेमलाल मल्ल र सुजनका अभिभावकलाई एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेड घोराही शाखाका सहायक विकाश अधिकृत सन्तोष अधिकारीले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
उपचार खर्च रकम लिदै सुजनका बुवा गेम बहादुर घर्ति क्षेत्रीले सामान्य रकमले गरेको वीमालेपनि राम्रै रकम आएकोमा खुशि ब्यक्त गरे । “स्कुलले वीमा गर्ने हो पैसा ल्याउनु भनेको छ भनेर बाबुले भन्यो, सानो रकाम भएर मैले पनी सहजै दिए, तर मलाई नै पर्दा राहत पाए, खुशी छु” सुजनका बुवा गेम बहादुरले भने । परीवार पाल्नकैलागी अटो चलाउदै आएका गेम बहादुरले वीमा कम्पनीहरुले सहजै पैसा दिदैनन् भन्ने बजारहल्ला भएपनि छिटो र सहज तरीकाले पैसा पाएकोमा उनले विद्यालय र वीमा कम्पनीलाई धन्यवाद समेत दिएका छन् ।
सामुदायीक विद्यालय गोरक्ष रत्ननाथ माध्यामीक विद्यालयले गत साउन महिनामा विद्यालयमा अध्ययनरत चार सय १० जना विद्यार्थी शिक्षक र कर्मचारीहरुको एकलाख बरावरको दुर्घटना विमा गरेको थियो । सोही वीमा कार्यक्रम अन्तर्गत सुजनले उपचार खर्च पाएका हुन् । विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले चालु शैक्षिक बर्षको साउनमा भएकोले सवै विद्यार्थीको वीमा गर्न नसकिएकाले अव आउने शैक्षिक बर्षमा विद्यालयका सवै विद्यार्थीको एकलाख बरावरको दुर्घटना वीमा गराउने प्रतिबद्धता जनाएका छन् ।
“विद्यालयमा १ हजार २ सय विद्यार्थी रहेका छन् आउदो शैक्षिक बर्षमा सवैको अनिवार्य दुर्घटना वीमा गराउछु” प्रअ मल्लले भने । दुर्घटना वीमाले विद्यालय र अभिभावक दुवैलाई राहत मिल्ले भएकोले पनि यो आवश्यक भएको उनको भनाई छ । सानो रकमले सुजनको जस्तै तपाईको पनि जोखीम बहन हुन्छ भने दुर्घटना बीमा गर्न ढिला नगर्न एनएलजी ईन्स्योेरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय घोराहीका सहायक विकाश अधिकृत सन्तोष अधिकारीले आग्रह गरे ।
“दुर्घटना अन्जानमाहुने भएकोले तपाईको दुर्घटनाको जोखीम बहन गर्न हामी तयार छौ,” अधिकारीले भने । वीमा फाईदा होईन, सुरक्षा हो भनेर बुझिदिन उनले शिक्षक, अभिभावक र वीद्यार्थीहरुलाई आग्रह समेत गरेका छन् ।
