नेपाली कांग्रेस बबईको तेस्रो सम्मेलन
संगठन सुधारका लागि एकता आवश्यक
गोरक्ष समाचारदाता
दाङ, १८ फागुन । नेपाली कांग्रेस बबई गाउँपालिकाको तेस्रो सम्मेलन शनिवार हापुरेमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस बबई गाउँपालिका सभापति प्रकाश बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्ने वक्ताले पार्टी संगठन सुधारका लागि एकजुट भएर नेता तथा कार्यकर्ता पार्टी निर्माणको कार्यमा लाग्नु पर्ने बताएका हुन् ।
वक्ताले पार्टीलाई संगठित र एकताबद्ध गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नका लागि पार्टीभित्र भएका गुटउपगुटसँगै व्यक्तिगत तिक्तता बिर्सिएर एकजुट हुनु पर्ने बताएका थिए । सम्मलेनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टी संगठन निर्माणका लागि इमानदारिताका साथ लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आगामी निर्वाचनमा पनि पार्टी विजयी गराउनका लागि पार्टी नेतृत्व र जनप्रतिनिधिबिच सम्बन्ध राम्रो हुन आवश्यक रहेको भन्दै त्यसमा ध्यान दिन सबैलाई आग्रह गरेका थिए ।
जनप्रतिनिधि र पार्टीबिच सम्वन्वय भएमा जनताका समस्या समाधान गर्न सकिने र त्यसले पार्टीप्रति जनतालाई आकर्षित गर्ने सभापति डाँगीको भनाई थियो । उनले पार्टी संगठनलाई सुदृढ र संगठितसँगै आर्थिक रूपमा पारदर्शी बनाउनका लागि पार्टीले प्रत्येक वर्ष सम्मेलन गर्ने गरेको बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले विकास निर्माणका सवालमा पार्टीसँग समन्वय गरेर अघि बढ्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए । जनप्रतिनिधि र पार्टीबिच समन्वय हुनसके मात्र जनताले कांग्रेसले जितेको अनुभूति गर्न सक्ने भएकालेतर्फ निर्वाचित जनप्रतिनिधिसँगै पार्टी नेतृत्वले ध्यान दिनु पर्नेमा सहभागीले जोड दिएका थिए ।
सम्मेलनको उद्घाटनसत्रमा नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि केशव आचार्य, टिका घर्ती, नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव पूर्णबहादुर केसी, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, नेपाली कांग्रेस बबई गाउँपालिका पूर्व सभापति बलबहादुर बुढा, नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसी, जिल्ला समन्वय समितिकी उपप्रमुख चेतना चौधरी, नेपाली कांग्रेस जिल्ला सदस्यहरू कुन्ति डिसी, तारा भण्डारी, नेपाली कांग्रेस प्रदेश नं. ३ (ख) सदस्य गोविन्द घिमिरेलगायत नेपाली कांग्रेस बबई गाउँपालिका सातवटै वडा सभापतिले मन्तव्य राखेका थिए ।
सम्मेलनमा पार्टीको सांगठनिक प्रतिवेदन पार्टी सचिव खिमकान्त धिताल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष चेतलाल आचार्यले प्रस्तुत गरेका थिए । सम्मेलनले सर्वसहमत प्रतिवेदन पारित गरेको थियो । नेपाली कांग्रेस बबई गाउँपालिका उपसभापति पिमलाल केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव गणेश केसीले गरेका थिए । सम्मेलनको खुल्ला र बन्द सत्र गरी दुई चरणमा भएको थियो ।
