घोराही, १० फागुन । प्रथम सहिद लखन थापा मगर कप फुटबलको उपाधि चौघेरा स्पोट्र्स एकेडेमीले जितेको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा नेपालका प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृतिमा घोराहीमा शनिबार भएको फाइनल खेलमा बिएफएललाई २–० गोलले पराजित गर्दै चौघेरा स्पोट्र्स एकेडेमीले उपाधि उचालेको हो ।
घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा भएको फाइनल खेलमा पहिलो हाफ गोलरहित भएपनि दोस्रो हाफमा चौघेरा स्पोट्र्स एकेडेमीले २ गोल गर्दै उपाधि उचालेको हो । चौघेरा स्पोट्र्सलाई जीत दिलाउन दुवै गोल सागर पुनले गरेका थिए । बिएफएलले पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्दै उपविजेता बनेको छ । बिएफएलका खेलाडीले प्रहार गरेको बल बार र पोष्टमा लागेर चार पटक फर्किएको थियो ।
प्रतियोगितामा विजेता बनेको चौघेरा स्पोट्र्स एकेडेमीले नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता भएको बिएफएलले पनि नगद पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार मगर दिवसका दिन फागुन १५ गते प्रदान गरिने प्रतियोगिता सहसंयोजक अशोक घर्तीले जानकारी दिएका छन् । टिमलाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेलेका चौघेरा स्पोट्र्स एकेडेमीका सागर पुन प्लेयर अफ द म्याच भएका थिए । प्रतियोगितामा दाङसहित सल्यान, रोल्पाका १६ टिमको सहभागीता रहेको थियो ।
सहिद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै सहिदको सम्मानका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ । फागुन १५ गते मगर दिवसका अवसरमा नेपाल संघ जिल्ला समन्वय समितिको परिसरमा एक समारोहबीच खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।