अध्यक्ष कपको उपाधि वडा नं. ६ लाई

प्रमोद आचार्य
दंगीशरण, ९ फागुन । दंगीशरण गाउँपालिकामा भएको गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ को शुक्रवार सम्पन्न भएको छ । स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल उद्देश्यका साथ बुधवारदेखि सुरु भएको तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिताको शुक्रवार एक कार्यक्रमका बिच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले समापन गरेका हुन् ।

अध्यक्ष कप समापन समारोहलाई सम्बोधन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफ्नो गाउँपालिकाका सबै उमेर समूह तथा सबै वर्गलाई सम्बोध गर्ने गरी काम गरेको बताए । खेलकुदले खेलाडीको अनुशासन र सिर्जनशीलतालाई समेत सहयोग गर्ने बताउँदै गिरीले खेलकुदको माध्यमबाट कुनै पनि ठाउँलाई चिनाउन र व्यक्तित्व विकासका लागि खेलकुद अपरीहार्य हुने अध्यक्ष गिरीको भनाइ थियो ।

अध्यक्ष कप खेलकुद समितिका संयोजक एवम् वडा नं. ६ का वडाध्यक्ष रोशनजंग शाहले खेलकुदको विकासका लागि एक वडा एक खेलमैदान र एक पालिका एक खेलकुद रङ्गशालाको अवधारणा लागु गर्नुपर्ने बताए । यसैगरी खेलकुदको विकास र विस्तारका लागि अगाडि बढ्न आफूले कार्यपालिकामा सदैव आवाज उठाउने शाहको भनाइ छ । शुक्रवार सम्पन्न तृतीय स्थानको लागि भएको पुरुष भलिबलतर्फ वडा नं. ३ ले वडा नं. ५ लाइ २÷२ को अध्यक्ष कपको उपाधि वडा नं. ६ लाई सेटमा पराजित गर्दै वडा नं ३ ले तृतीय स्थान हासिल गरेको थियो ।

वडा नं ६ र वडा नं ७ बिच भएको पुरुष भलिबलमा वडा नं ६ ले वडा नं ७ लाई सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो । वडा नं ७ ले उपविजेतामा चित्त बुझायो । यसैगरी शुक्रवार पुरुष फुटबलतर्फ भएको तृतीय स्थानको लागि भएको खेलमा वडा नं १ ले तृतीय स्थान हासिल गरेको थियो । यसैगरी प्रथम स्थानका लागि भएको पुरुष फुटबलमा २÷० को गोल अन्तरले पराजित गर्दै वडा नं ६ ले प्रथम स्थान हासिल गरेको थियो ।

महिला घैँटाफोड प्रतियोगितामा सरिताकुमारी रावत प्रथम, दिलमाया केसी द्वितीय र जितकुमारी परियार तृतीय भइन् । यसैगरी ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको सिँयो–धागो प्रतियोगितामा हरिबहादुर भण्डारी प्रथम, रुपलाल नेपाली द्वितीय र चुडामणि विक तृतीय भए । अपाङ्गता भएका व्यक्तिहरूका लागि भएको बैसाखी दौड प्रतियोगितामा लक्ष्मण चौधरी प्रथम र रुपलाल चौधरी द्वितीय भएका थिए ।

समापन समारोहमा दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारी, कार्यपालिका सदस्य मिना चौधरी, कार्यपालिका सदस्य टङ्की भण्डारी, वडा नं १ का वडाध्यक्ष एवम् गाउँपालिका प्रवक्ता रमेश भण्डारीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।