लमहीमा आध्यात्मिकता विषयक अन्तरक्रिया

लमही, ८ फागुन । देउखुरीको लमहीमा धर्म, धार्मिकता र आध्यात्मिकता विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ॐ शान्ति लमहीका प्रमुख इन्दिरा दिदीको अध्यक्षता तथा निवर्तमान प्रदेश सभा सदस्य रेवतिरमण शर्माको प्रमुख आतिथ्यमा ८९औं शिवशक्ति अवतरणको मुहूर्तमा उक्त अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रियामा ूस्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरणू भन्ने नारा सहित सकारात्मक समाज रूपान्तरणका लागि युवा सचेतना, दुर्व्यसन मुक्त समाज, स्वच्छ वातावरण निर्माण तथा पीडितलाई सहायता लगायतका गतिविधि गर्दै आएको निवृत्त शिक्षक एवं ॐ शान्ति साधक दामोदर पाण्डेले बताएका छन् ।

कार्यक्रममा ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र लमही शाखा प्रमुख तथा लुम्बिनी प्रदेश उपाध्यक्ष इन्दिरा दिदीले आध्यात्मिकता पहिचान ध्यान साधनाको व्यावहारिक प्रयोगबाट मात्रै सकारात्मक रूपान्तरणको परिकल्पना गर्न सकिने बताइन । उनले कलियुगको विषम घडीमा सम्पूर्ण सम्प्रदायको साझा लक्ष्य हुनुपर्ने बताएकी थिइन ।

ॐ शान्ति संस्था परिचय, गतिविधि र शिवशक्तिका विषयमा गढवा शाखा प्रमुख दिदीले ध्यान, भजन र स्मृति अभ्यासको प्रस्तुति गराएकी थिइन । त्यसैगरी गायत्री परिवार दाङ पनि ूस्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरणू मूल नारा लिएर ॐ शान्ति जस्तै निरन्तर अघि बढिरहेको गायत्री परिवार दाङका श्रीराम दहितले बताए । उनले गायत्री परिवार दाङ सहकार्य गर्न धर्मतन्त्रको माध्यमबाट सकारात्मक रूपान्तरणमा गायत्री महामन्त्र जप, यज्ञ, ध्यान, योगको माध्यमबाट प्राकृतिक जीवनशैली जिउन युवा जागरण, नारी जागरण, कुरीति न्यूनीकरण, लैङ्गिक जातीय वर्गीय विभेद मुक्त समाज र वातावरण संरक्षण अभियानमा रहेको बताए ।

ओम शान्ति साधक हरिहर शर्माले संस्थागत गतिविधि तथा व्यक्तिगत अनुभूति प्रस्तुत गरेका थिए । हिन्दु जागरण नेपालका शोभाकर सापकोटाले सनातन हिन्दु अभियान आजको आवश्यकता रहेको बताएका थिए । वैदिक सनातन अभियन्ता, साइ केन्द्रका कोमानन्द पाण्डे, गायत्री परिवारका ईश्वरा पछाई लगायतकाले विचार राखेका थिए । ॐ शान्ति लमही दाङ देउखुरी शाखाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण र धन्यवाद ज्ञापन आनन्द भाइले गरेका थिए । महाशिवरात्रीको अवसर पारेर बह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रसँगै शाखा कार्यालयहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।