calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

महायज्ञमा ५१ लाख बढी बचत

गोरक्ष समाचारदाता
दाङ, ३० माघ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सञ्चालित सेवा घरको दिगो व्यवस्थापनका लागि सञ्चालित श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ मा साढे ५१ लाख बढी बचत भएको छ ।

मानव कल्याण समाजको आयोजनामा माघ १७ देखि २४ गतेसम्म घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा सञ्चालन भएको श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा ५१ लाख ७५ हजार छ सय ५१ रुपैयाँ बचत भएको महायज्ञका आर्थिक उपसमिति संयोजक नारायण भुसालले जानकारी दिएका छन् । उनका अनुसार महायज्ञमा ६५ लाख २४ हजार नौ सय १३ रुपैयाँ दान सङ्कलन भएकोमा १३ लाख ४९ हजार दुई सय ६२ रुपैयाँ खर्च भएर ५१ लाख ७५ हजार छ सय ५१ रुपैयाँ बचत भएको जानकारी गराएका हुन् ।

महायज्ञमा रसिदबाट ६१ लाख ७८ हजार तीन सय ५० रुपैयाँ, दानपत्रबाट एक लाख २९ हजार सात सय ४० रुपैयाँ, भागवत पुस्तकको दक्षिणाबाट ३७ हजार पाँच सय ५५ रुपैयाँ, कलशबाट ५१ हजार एक सय २० रुपैयाँ र वडा कार्यालयबाट एक लाख २८ हजार एक सय ४८ रुपैयाँ आर्थिक सङ्कलन भएको पत्रकार सम्मेलनमा उनले जानकारी गराएका थिए । महायज्ञमा टेन्ट, साउन्ड व्यवस्थापन, प्रचारप्रसार, प्रमाणपत्र, फ्रेम, रुद्राक्ष, दोसल्ला, आवास तथा भोजन, पानी, पूजा सामग्रीलगायतका विभिन्न सामान खरिद गर्दा करिब १३ लाख ४९ हजार बढी खर्च भएको जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा जिन्सी अन्तर्गत चामल, धान, आलु, तरकारी, नून, टमाचारलगायतका वस्तु सङ्कलन भएको जानकारी गराइएको थियो । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सञ्चालित सेवा घरको दाङ शाखामा ५७ जना सडक मानव बस्दै आएका छन् । जसमा पाँच महिनाको बालिकादेखि ९० वर्षका वृद्धसम्म बस्दै आएका छन् । जसमा २२ जना पुरुष र २८ जना महिला, चार जना बालिका र तीन जना बालक रहेकाछन् ।

उनीहरूमध्ये मनोरोगी, अपाङ्गता भएका र सुस्तमनस्थितिलगायतका मानसिक बिरामी रहेका छन् । पत्रकार सम्मेलन महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसमिति संयोजक आरके शीतलले गरेका थिए ।