संक्रमण बृद्धिदर घटेन

गोरक्ष समाचारदाता
दाङ, १७ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । आजभन्दा एक महिना अगाडि अर्थात चैत १७ गतेसम्म यो संख्या ४ जनामा सीमित थियो । यो अवधि पुरै लकडाउनको अवधि हो । लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्ने क्रम भने नेपालमा रोकिएको छैन ।

एक महिनाको संख्यालाई हेर्दा संक्रमितको बृद्धिदर ४४.१६ प्रतिशत रहेको छ । बृद्धिदर संक्रमण ठूलो संख्यामा फैलिएका देशहरुको जस्तै देखिएको छ । मंगलबार र बुधबारको आँकडाको आधारमा हेर्दा पनि नेपालको बृद्धिदर घटेको अबस्था देखिँदैन । यी दुई दिनमा नेपालको बृद्धिदर ५.५ प्रतिशत छ भने ३.४ प्रतिशत रहेको छ । त्यसैगरी अमेरिकाको यो २ दिनको बृद्धिदर २.२६ प्रतिशत रहेको छ । नेपाल र भारतमा लकडाउनलाई सरकारीस्तरबाट सक्दो कडाइँ गरिएको छ भने अमेरिकामा खुकुलो नै छ ।

हालसम्म नेपालमा देखिएका ५७ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन् । बाँकीको उपचार भइरहेको छ । विदेशबाट आएका, उनका परिवार हुँदै छरछिमेकीसम्मलाई पनि कोरोना संक्रमण सरेको पाइएको छ । यो चरणलाई जानकारहरु ‘कम्युनिटी ट्रान्सफर’को चरण भन्दछन् । महामारी फैलने क्रममा दृष्टिले यो तेस्रो चरण हो ।