विपुल पोख्रेल/आर.के. शीतल
दाङ, १७ बैशाख । तेरौटेस्थित बृद्धाश्रमको मूल ढोकामा ताला लागेको छ । गेट बाहिरबाट हेर्दा सुनसान देखिन्छ । ‘बृद्धबृद्धाहरुलाई सुरक्षित राख्न कसैलाई पनि प्रवेश नदिने भनेर मूलगेट नै लगाइएको हो’, त्यो बृद्धाश्रमको सञ्चालक संस्था जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीले भने– ‘चिनेको मान्छे, बिशेष कामले आएको मान्छेलाईसम्म गेट खोल्ने नत्र बन्द नै राख्ने भनेका छौं ।’
त्यो बृद्धाश्रममा बृद्धबृद्धालाई सहयोग गर्नेहरु, भेट गर्नेहरुमात्र हैन, त्यहाँको रमणीय अवस्थासँग साक्षात्कार गर्नेहरु पनि जाने गर्दछन् । सानातिना मुभीहरुको सुटिङ पनि त्यहाँ गर्ने गरिन्छ । तर लकडाउनका कारण अहिले पुरै बृद्धाश्रम ‘लक’ भएर बसेको छ । ‘कसैलाई भित्र लगिएको छैन,’ आश्रमकी व्यवस्थापक हिरा शाहले भनिन्– ‘बृद्धबृद्धाहरुलाई छिटो संक्रमण सर्छ भन्छन् त्यही भएर सुरक्षित राख्न यसो गरिएको हो ।’
व्यबस्थापक शाह गेट बाहिर निस्किइनिन् । दुपट्टाले नाक–मुख छोपेर उनले पर्खाल भित्रबाटै कुरा गर्न चाहिन् र भनिन्– ‘मलाई स¥यो भने त यहाँ सबैलाई सर्छ, त्यही भएर म सुरक्षित भएर मात्र काम गर्ने गरेकी छु ।’ अहिले त्यहाँ १५ जना बृद्धबृद्धाहरु बस्दै आएका छन् । ‘लकडाउनकै बीचमा एकजनाको मृत्यु भयो, आश्रम पछाडिको खाली स्थानमा अन्त्येष्टि गरियो, बाहिर लैजाने अनुकूल नै परेन’, हिराले भनिन् ।
सुरक्षा नै पहिलो प्राथमिकता
बृद्धबृद्धाहरुलाई सुरक्षित राख्नका लागि बाहिरसँग कुनै पनि प्रकारले नजोडिने रणनीतिका साथ आश्रम यतिबेला बन्द छ । यो बन्दमा खानेकुरा लगायतका अन्य अत्यावश्यक कुराहरुको समस्या नपर्ने गरी आश्रमले व्यबस्था मिलाइसकेको छ । ‘ग्यासको समस्या थियो, त्यो अस्ती समाधान भैसक्यो’ हिराले भनिन्– ‘अरु कुराहरु त टन्नै छ स्टोरमा, केही समस्या पर्ने देखिँदैन अहिले नै त ।’
आश्रममा रहेकाहरुमध्ये ४ जनाले नियमित औषधि खाने गरेका छन् । स्वास्थ्यमा समस्या आएर अस्पताल लैजानपर्ने अवस्था नआओस् भनेर कामना गरिरहेकी छिन् ब्यबस्थापक हिरा । भन्छिन्– ‘बाहिर के–कस्तो हुन्छ, बुढाबुढीलाई चाँडै सर्छ भन्छन् । त्यसैले बाहिर लग्न नपरे हुन्थ्यो भन्ने लाग्छ ।’ बाहिरबाट चिकित्सकलाई पनि यो बीचमा एकपल्ट मात्र बोलाउन प¥यो । ‘यो पनि नपरोस् भन्ने लाग्छ’, उनी भन्छिन् ।
कुराकानीको बिषय कोरोना नै
कोरोनाका बारेमा बृद्धबृद्धाहरुलाई थाहा छ । समाचारमा सुन्छन् । आजकल उनीहरुको कुराकानीको बिषय पनि यही कोरोना नै हुने गरेको छ । हिराका अनुसार अब हुक्किन पनि थालेका छन् यो कोरोनाको कुराले उनीहरु । तर आशा भने मारेका छैनन् । हिरा भन्छिन्– ‘कोरोना कहिले सक्केला र यहाँ मान्छेहरु आउने रमाइलो हुने दिन आउला भन्न थाल्नुभएको छ उहाँहरु ।’
सजग छन् उनीहरु
कोरोनाका कारण सचेत र सजक छन्, बृद्धबृद्धाहरु । ‘एकदिन गेट बन्द भएको देखेर पछाडिबाट आई एकजनाले सुन्तला दिनुभएछ, उहाँहरुले नखाएर राख्नुभएको थियो’, हिरा भन्छिन्– ‘पछि मलाई सोधेर, पखालेर मात्र खानुभयो ।’ एफएममा समाचार सुनेर यति सजगता उनीहरुमा देखिएको हिराको भनाइ छ । आजकल नियमित सँगै भएर भजनकीर्तनलगायत सत्संग पनि गर्दैनन् बृद्धबृद्धाहरु । मन्दिर पनि सबै एकैपटक जाँदैनन् । कति त जाँदै जाँदैनन् । आश्रमले सबै बृद्धबृद्धाको कोठाको अगाडि सावुन–पानी र सेनिटाइजर राखिदिएको छ । त्यसको प्रयोग गर्छन्, उनीहरु । सेनिटाइजर, मास्क पनि विभिन्न दाताहरुले दिएको नै प्रशस्त छ आश्रममा । ‘आफै किन्न परेन, दाताहरुले ल्याइदिनुभयो’, हिरा भन्छिन् ।
शुरु–शुरुका केही दिनहरुमा मास्क लगाए पनि बृद्धबृद्धाहरुले । तर, अलि असजिलो महसुस गरे । ‘मास्क सजिलो मान्नुभएन, बाहिरबाट कोही नआउने भनेपछि चाहिँदैन भन्ने लागेर मैले पनि अनिवार्य लगाउन भनेको छैन’, हिराले भनिन् । हिराका अनुसार बाहिरका मान्छेहरुसँग भेटघाट पुरै बन्द भएकाले केही नियास्रो त मानेका छन् बृद्धबृद्धाहरुले तर, अबस्थाका बारेमा जानकार भएकाले छटपटिएका भने छैनन् ।
भोजन उस्तै
आश्रममा रहेका बृद्धबद्धाहरुलाई शुरुदेखि नै शाकाहारी भोजन खुवाउने गरिएको छ । अहिले पनि त्यसै प्रकारको खाना खुवाइँदै आएको हिराले जानकारी दिइन् । ‘पनिर, च्याउ खुवाउने गर्छौ अहिलेसम्म त्यो पनि चलिरहेकै छ’, उनले भनिन्– ‘पनिर पनि खुवाइरहेका छौ, अस्ती दूधवालासँग मगायौं उहाँले गेटमा ल्याएर झुण्डाई दिनुभयो, केही बेरपछि मात्र भित्र लगेर पकाइम् ।’
भिजिटरका संख्या न्यून
मानिसहरुले जन्मदिनका दिन, बाबुआमाको श्राद्धको बेला वा अन्य त्यस्तै बिशेष सन्दर्भ पारेर बृद्धाश्रममा पुगी बुढाबुढीलाई केही खाने कुरा तथा अन्य उपहार दिने प्रचलन बलियोसँग बसेको छ । दैनिक ८/१० वटा त्यस्ता समूहहरु आइरहने गरेको भए तापनि लकडाउनले त्यो संख्या करिब–करिब शून्यमा झारिदिएको छ । ‘अहिले त यो लकडाउनको अवधिभरमा जम्मा ८/१० समूह मात्र आयो होला’, हिरा भन्छिन्– ‘त्यो पनि सेनिटाइजर, मास्क दिनेहरु समेत गरेर ।’
भिजिटरको संख्या घटे पनि आश्रमप्रतिको चासो भने नघटेको र अबस्थाका बारेमा सोधपुछ भने भइरहेको अनुभव हिरालाई भएको छ । ‘अस्ति वडाध्यक्ष र अरु आएर पनि यही गेटबाट सबै समस्या सोधेर जानुभएको हो । अरुहरुले पनि फोनमा चासो राखेर समस्या दुःख सोधिरहनुहुन्छ’, हिराले भनिन्– ‘अहिलेसम्म त्यस्तो केही समस्या परेको छैन भनिरहेकी छु ।’