सुप्रिया मां
संसारभर कोरोना भाईरसको महामारीले आतंक मच्चाएको छ । हामी पनि यसैको भय र त्रासमा छौं । लाखौं मानिसहरु विरामी भएकाछन्, धेरैको मृत्युं पनि भैसकेको छ । यो महामारीले गर्दा मानिसमा डर, त्रास, भय, तनाव र नकरात्मक भावनाहरु आउनु स्वभाविक पनि हो । यो विषम परिस्थितिले निम्त्याएको डर, त्रासबाट बाहिर आएर निडर, साहसिलो र सकरात्मक जीवनशैली कसरी बनाउने र यो महामारीले मानव जातिलाई के संदेश दिदैं छ, यो हाम्रो चिन्तनको विषय हो । मानिसहरुलाई कुनै संदेश दिनका लागि प्रकृतिले यस्ता घटनाहरुको आयोजना गरेको हुन्छ । हामीलाई आइपर्ने सबै प्रकारका घटनाहरु भित्र हामीले सिक्नै पर्ने पाठहरु लुकेका हुन्छन् ।
यो महामरीले पनि हामीलाई धेरै प्रकारका पाठहरु सिकाउदैं छ । भय र त्रासको मनोविज्ञान गहिरो हुन्छ । डर, त्रास र भय भनेको आउन लागेको नराम्रो घटना वा खतराको सूचना पाएपछि हाम्रो मनले सुरु गरेको प्रतिरक्षाको प्रकृया हो । सामान्य बेचैनीसम्म यो ठिक छ, त्यसले इश्वर प्रति श्रदा, राज्यका नियम कानुनको पलना, परिस्थिति प्रति जागरुक, भिडभाडबाट बच्ने, अफुलाई अनुशासित बनाउने जस्ता कार्य गर्छ । बेचैनी बड्दै गएर डर, त्रास, भय र चिन्तित हुनु ठिक होइन । मानिसको सबै भन्दा ठूलो समस्या भनेकै डर, त्रास र चिन्ता हो ।
वास्तवमा भयको कुनै अस्तित्व हुदैंन, यो एउटा मानसिक भ्रम मात्र हो । हाम्रा सबै रोगहरु साइकोसोमैटिक अर्थात मनोवैज्ञानिक हुन्छन् । मन रोगी भए शरिर पनि रोगी हुन्छ । मनमा भय र त्रास हुने बित्तिकै शरिरको शक्ति कम हुन्छ । हामीलाई थाहा छ, कुनै नराम्रा घटना सुनेर डराएको बेलामा हाम्रा हात खुट्टाले काम गर्न छोडेको हुन्छ । हामीले यो कुरा राम्रोसंग बुझ्नु पर्छ, डरको आवृत्ति (Frequency) धेरै तेज हुन्छ । त्यसैले जुन कुरा हामीले बारंबार कल्पना गर्दछौं, त्यो कुरा वास्तविक जीवनमा पनि घट्ने ठूलो सम्भावना रहन्छ । जुन कुराका लागि धेरै डरायो त्यहि हाम्रो जीवनमा आइपर्छ । जुन बेला हामी धेरै डराउछौं तनावमा हुन्छौं, दुःखी हुन्छौं, आत्तिन्छौं र नकारात्मक कुराहरु धेरै सोच्छौं त्यो बेला हाम्रो शरिरले कोर्टिसोल नामको एक प्रकारको हार्मोन(Cortisol Hormone) बनाउंछ र यो धेरै भए हाम्रो शरिरलाई हानी गर्दछ र यस्ले गर्दा हाम्रो प्रतिरोध शक्ति (Immunity Power) पनि कम हुन्छ । प्रतिरोध शक्ति कम भएपछि ठूलाठूला रोगहरु लाग्ने र भाइरसहरुले हामीलाई बारंबार आक्रमण गर्ने सम्भावना धेरै रहन्छ ।
डरको कुरा गर्दा मलाई पुस्तकमा कतै पढेको एउटा घटना याद आयो । यो जर्मनीको कुनै समयको कुरा हो । एक जना मानिसले आफुसंगै बसेको साथीलाई झगडा भएको बेलामा बरफले हानेछ र त्यो साथीको मृत्यु भएछ । उसले आफ्नो साथीलाई मार्न खोजेको होइन भन्ने देखिन्छ । अदालतले उसलाई एक महिना जेलमा राख्ने र एक रात बरफमा राख्ने सजाय सुनायो । त्यो मानिसको जेलमा दश दिनमै मृत्यु भयो । पछि मृत्यु हुनुको कारण खोज्दै जाँदा यस्तो कुरा थाहा लाग्यो, त्यो मानिसले बरफको चिसोमा बस्ने पीडाको कल्पना गर्दागर्दै उस्को शरिर यति चिसो भएर आएछ कि त्यो चिसोको करणले नै उस्को मृत्यु भएको रहेछ । बरफको चिसोको कल्पना गरेर डराएर उस्को शरिरमा यस्तो प्रभाव परेको रहेछ । बनको बाघले भन्दा मनको बाघले झन् चाँडो खाँन्छ । डरलाई व्यवस्थापन गरेर सहज अवस्थामा रहन अत्यन्त आवस्यक छ । तल उल्लेख गरेका यस्ता कार्यले हामीलाई डर, त्रास र तनावबाट बाहिर आउन मदद् गर्छ ।
अनावस्यक सूचना र जानकरीबाट सजग रहनु – डरको कारक तत्व भनेको विभिन्न नराम्रा घटनाहरुको जानकारी र सूचनाहरु हो । यस्ता सूचना मस्तिष्कमा संग्रहित भएपछि अब मस्तिष्कले खतरा आउंदैछ भनेर मन र शरिरलाई संकेत गर्दछ । अब मनले बाच्नका लागि विभिन्न प्रतिक्रिया सुरु गर्छ अर्थात डर, त्रास र चिन्ता सुरु हुन्छ र यो बड्दै गएपछि घर भित्रै पनि डर लाग्न थाल्छ । निरन्तर महामारी र नराम्रा घटनहरुको समाचार सुन्ने, हेर्ने, पढ्ने, सोच्ने र बोल्ने नगरिकन अरु विषय वस्तुतिर ध्यान लैजाने हो । जस्तै रमाइला फिल्म र हसाँउने जोक्स हेर्ने, ज्ञानवर्धक लेख पढ्ने, परिवारका सबै मिलेर रमाइला गफ गर्ने आदि ।
परिस्थितिलाई स्विकार्नु – परिस्थितिलाई जस्ताको त्यस्तै स्विकार्नु पर्छ । यो परिस्थिति आउंछ जान्छ भनेर त्यसलाई सहज रुपमा लिनु पर्छ । जबसम्म परिस्थितिलाई स्विकार गर्दैनौ तब सम्म हामीलाई डर, त्रास र तनाव बनि रहन्छ । परिस्थितिलाई स्विकार गर्ने बित्तिकै आत्मबल ठूलो हुन्छ र परिस्थिति सानो लाग्छ ।
दृष्टिकोण बदल्नु – प्रकृतिको नियम यस्तो छ, एकातिर बिग्रिदै गयो भने अर्कोतिर नयाँ बन्दै गरेको हुन्छ । एकातिर नराम्रो हुँदै गर्दा अर्कोतिर राम्रो भईरहेको हुन्छ । जस्तै रुखका पातहरु झरे भने नयाँ पालुवा संगसंगै पलाउंदै गरेको हुन्छ । हामीले झरेको पातलाई हेर्ने होइन नयाँ पालुवा तिर हेर्ने हो । दृष्टिकोणलाई बदलेर सृष्टिलाई हेर्नु नै सकरात्मक सोंच हो ।
अवसर र संभावनाहरु खोजेर व्यस्त रहनु – परिस्थिति विपरित छ, सबैतिर बन्द छ, घरमा बस्नु परेको छ । यस्तो बेलामा आफुले के गर्न सकिन्छ, के सिक्न सकिन्छ भनेर विभिन्न अवसरहरु खोज्ने हो । आफूले गर्न सक्ने कुराहरुको संभावनाहरु खोज्ने हो । कुनै काममा व्यस्त रहने हो भने डर र तनाव पनि कम हुन्छ । डर, भय, तनाव र चिन्ता त्यति बेला धेरै हुन्छ, जब हामी केही नगरिकन खाली बस्छौं ।
परिवारसंग बस्नुको खुशी र आनन्द – परिवारमा सहकार्य र सौहार्द वातावरण बनाएर एक आपसमा सहयोग गर्दै परिवारमा रहनुको आनन्द लिने हो । जीवनले दिएको यो अवसरलाई हासेर खुशीसंग बिताउने हो । डर, त्रास र चिन्ता मानेर समय फान्ने होइन ।
व्यायाम, निन्द्रा, संतुलित र सात्विक भोजन – अपर्याप्त निन्द्रा, निस्कृय जीवनशैली र असंतुलित आहारले हामीमा तनाव र अकारण भयलाई वृद्धि गर्छ । समय निकालेर व्यायाम गर्न अति आवस्यक छ । हाम्रा डाक्टरहरुले भने अनुसार सन्तुलित आहार (प्रोटीन, कार्बोहाइड्रेट्स, फ्याट्स, फाईवर) र फलहरुसंगै भिटामिन्सहरु जस्तै भिटामिन्स सि, भिटामिन्स डी, तथा जिंक जस्ता सप्लिमेन्ट पनि लिन अति आवस्यक छ । यसले रोग प्रतिरोधक शक्ति बडाउंछ ।
योगासन, प्राणायाम र ध्यान गर्ने – योगासन, प्राणायाम, ध्यान सिक्न र गर्न पनि अति आवश्यक छ । यस्ले हाम्रो शरिर स्वस्थ्य राख्छ र मनलाई शान्त बनाउंछ । कुनै पनि एउटा प्राणायाम गर्ने र त्यसपछि आँखा बन्द गरेर भित्रको आकाशमा डुब्नु हो ध्यान । प्राणायाम ले शरिरमा अक्सिजन वृद्धि गर्छ र तनाव कम गर्छ । ध्यानले निर्विचार अवस्थामा लैजान्छ र मनका विकारहरु सबै हराउंछ । जसलाई भय, डर र तनाव धेरै हुन्छ त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्राणायाम र ध्यान गर्नु पर्ने हुन्छ ।
जीवनको वास्तविक सत्यलाई मनन गर्नु – यो विषम परिस्थितिमा आफुसंग भएको सम्पत्ति सकिन्छ, घाटा वा नोक्सान हुन्छ, मृत्यु हुन्छ, विरामी भइन्छ, यस्तै कुराको कल्पनाले हामीलाई डर, त्रास र तनावमा लैजाने हो । वास्तवमा भन्ने हो भने हाम्रो केही पनि सकिदैन र घट्दैंन पनि । हामीले जन्मिदा दुईवटा कुरा संगै लिएर आएका थियौं । एउटा हो, थाहा पाउने तत्व अर्थात आत्मा तत्व र अर्को हो तिन वा चार किलोको भौतिक शरिर । थाहा पाउने तत्व कत्ति पनि घटबड हुदैन र कहिल्यै पनि मर्दैन । यसलाई कुनै पनि महामारीले मार्न सक्दैन । अर्थात भौतिक शरिर मर्ने हो, हाम्रो मृत्यु कहिल्यै पनि हुदैन, यो सत्यलाई मनन् गर्न आवश्यक छ । हामीले कमाएको जस्तै सम्पत्ति, परिवार र साथीहरु यो विषम परिस्थितिमा घटबड हुन सक्छ, त्यो भनेको स्वभाविक प्रकृया हो । त्यो घट्न पनि सक्छ र बड्न पनि सक्छ । यो सत्यलाई मनन गरेर परिस्थितिलाई स्विकार्नु पर्छ ।
कोरोना भाइरसको महामारीले हामीलाई धेरै संदेश दिएको छ । यसले दिएको संदेशलाई विभिन्न दृष्टिकोणले हेरेर व्याख्या गर्न सकिन्छ । हामीले देखिरहेका छौं, अविकसित देशका मानिसहरुमा भन्दा विकसित देशका मानिसहरुमा प्रतिरोध शक्ति (Immunity Power) को अभाव भएकोे र कोरोना भाईरसले धेरै आक्रमण गरेको देखिन्छ । बेलायत र अमेरिका जस्ता शक्तिशाली र विकसित देशमाहरुमा प्रविधिको विकासले गर्दा वुद्धिको कार्य धेरै गर्नुपर्ने हुन्छ र शारिरीक श्रम कम गर्नुपर्छ । जति विकसित देश भयो उति प्रकृतिको सानिध्यबाट पनि टाढा भएको पाइन्छ । अमेरिकाका मानिसहरुमा कामको तनाव (Work Stress) पनि धेरै भएको मैले पाएँ । उनीहरुमा कामको मात्र तनाव होइन पारिवारिक तनाव जस्तै बारंबार अभिभावकको सम्बन्धविच्छेद वा आफ्नै सम्बन्धविच्छेद र प्रेमको अभाव जस्ता कारणले पनि मानसिक तनाव धेरै रहेको पाईन्छ ।
खुशी, उत्साह, उमंग, शान्ती र आनन्द जस्ता कुराहरुले प्रतिरोध शक्ति( Immunity Power) मा वृद्धि गर्दछ । यो विभिन्न खोज र अनुसन्धानले पनि देखाई रहेको छ । प्रकृतिको सानिध्यले मनमा खुशी र उमंग दिन्छ । विकसित देशका मानिसहरुलाई चिन्ता, तनाव वा मानसिक बेचैनीले गर्दा पनि प्रतिरोध शक्ति (Immunity Power) कम भएको हो भन्ने मलाई लागेको छ । सायद आहार र दृघरोग जस्ता अरु कारणहरु पनि होलान । त्यसलाई यहाँ व्याख्या गरिएको छैन ।
कोरोना जस्ता भाइरसको महामारीसंग लड्नका लागि हाम्रो जीवनशैली यस्तो हुनु पर्दो रहेछ । प्रकृतिको सानिध्यमा रहनु, मानसिक रुपमा शान्त, खुशी र आनन्दित रहनु, अध्यात्मिक जीवनशैली बनाउनु जस्तै योग, प्राणायाम र ध्यान गर्नु , सात्विक र संतुलित् आहार गर्नु र शारिरीक रुपमा सकृय हुनु पर्दोरहेछ । आजलाई यति नै, हरी ॐ !
-सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ