अमरराज आचार्य
दाङ, १९ माघ । किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोपलाई प्रभावकारी बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय दाङको आयोजनामा जिल्लास्तरीय खोप समन्वय समितिको बैठक एवम् सरोकारवालासँग खोप अभियान प्रभावकारी बनाउने विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले पहिलो पटक सञ्चालन हुन लागेको अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
माघको २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइन लागिएको भन्दै यसलाई प्रभाकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेका हुन् । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० स्थानीय तहका ३९ हजार चार सय ५० जना बालिका तथा किशोरीलाई खोप लगाउने तयारी भइरहेको छ । दाङका विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरी ३९ हजार चार सय ५० जना बालिका तथा किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिए ।
प्रमुख आचार्यका अनुसार तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत बालिकालाई खोप लगाउन जिल्लामा चार सय ४८ वटा केन्द्र तोकिएको छ । जसमा चार सय ३५ वटा विद्यालय र १३ वटा विद्यालय बाहिर खोप केन्द्र रहेका छन् । कार्यालय प्रमुख आचार्यका अनुसार घोराहीमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ११ हजार नौ सय ५२ जना र विद्यालय बाहिर रहेका सात सय २६ जना गरेर १२ हजार छ सय ७८ जना, बंगलाचुली गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ८१ र विद्यालय बाहिर रहेका २१ जना गरेर एक हजार तीन सय दुई जना किशोरीलाई खोप लगाइनेछ ।
तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत १० हजार पाँच सय ९९ जना र विद्यालय बाहिर रहेका आठ सय ४३ गरेर ११ चार सय ४२, शान्तिनगर गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार चार सय ४४ जना र विद्यालय बाहिरका ६६ जना गरेर एक हजार पाँच सय १० जना, बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत एक हजार सात सय ८१ जना र विद्यालय बाहिरका ५४ जना गरेर एक हजार आठ सय ३५ जना, दंगीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत नौ सय ५१ जना र विद्यालय बाहिर रहेका एक सय ४० जना गरेर एक हजार ९१ जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत तीन हजार दुई सय १४ जना र विद्यालय बाहिर रहेका एक सय १८ जना गरेर तीन हजार तीन सय ३२ जनालाई खोप लगाइने छ ।
यसैगरी राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार सात सय १६ जना र विद्यालय बाहिर रहेका ९६ जना गरेर दुई हजार आठ सय १२ जना, गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार ३२ जना र विद्यालय बाहिर रहेका ५४ जना गरेर दुई हजार ८६ जना र राजपुर गाउँपलिकामा विद्यालयमा अध्ययनरत एक हजार दुई सय ३५ जना र विद्यालय बाहिर रहेका एक सय २७ जना गरेर एक हजार तीन सय ६२ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले बताए ।
सरकारले कोही पनि बिरामी नहोस्, अपाङ्ग नहोस् र मृत्युु नहोस् भनेर खोप अभियान चलाउने गरेको भन्दै भ्याक्सिनेसन, स्क्रिनिङ र उपचारका तीन विधि सँगसँगै लैजाने लक्ष्य लिइएको उनले बताए । एचपिभी भाइरसका प्रजातिमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण मानिन्छन् । एचपिभी खोप निकै प्रभावकारी रहेको जनाउँदै यो वर्ष लक्षित उमेर समूहका कोही नछुट्ने गरी खोप लगाउने तयारी भएको हो । कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले प्रत्येक पालिकामा यो अभियान सफल बनाउन तयारी भइरहेको बताए ।
लक्षित उमेर समूहका कोही किशोरी खोप लगाउनबाट वञ्चित हुन नपरोस् भनेर ध्यान दिइएको भन्दै पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई जोगाउन सरकारले अघि सारेको राष्ट्रिय खोप कार्यक्रम प्रभावकारी बनाउनु सबैको दायित्व रहेको बताए । पाठेघरको मुखको क्यान्सर विश्वमा महिलामा हुने क्यान्सरमध्येमा चौथो मुख्य क्यान्सरको रूपमा रहेको छ । संसारमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ । यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्याङ्क अनुसार संसारका ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू र मृत्यु हुने सङ्ख्या न्यून र मध्यम आय भएका देशमा देखिएको छ ।
यता नेपालमा पनि हरेक वर्ष दुई हजार एक ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । जसमा हरेक वर्ष एक हजार तीन १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । जसअनुसार औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ । जिल्ला खोप समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका भानुज्योति वलीले गरेका थिए ।