महायज्ञलाई सफल बनाउन पतिबद्धता
गोरक्ष समाचारदाता
दाङ, ८ माघ । सडक मानवहरूका लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघ १७ गतेदेखि घोराहीमा हुने महायज्ञ सफल बनाउन दाङका राजनीतिक दलहरूले प्रतिवद्धता व्यक्त गरेका छन् ।
सडक मानव तथा सार्वजनिक स्थलहरूमा अलपत्र, बेवारिसे अवस्थामा रहेका खाना, नाना र छानाविहीन बेवारिसे सडक मानवहरूको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघ १७ देखि २४ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा हुने ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ को विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी राजनीतिक नेतृत्वहरूले महायज्ञ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै साथमा रहेको बताएका हुन् ।
महायज्ञ आयोजक मूलसमितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको बैठकमा सहभागी राजनीतिक दलका नेतृत्वहरूले बेसहारा मानवहरूलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले मानव कल्याण समाजको यस सडक मानव मुक्त बनाउने अभियानमा सहयोग गर्ने र महायज्ञ सफल बनाउन लागिपर्ने बताए ।
नेकपा एमालेका नेता जीवन गौतमले मानव कल्याण समाजले सडक मानव मुक्त बनाउने उद्देश्यले आयोजना गरेको महायज्ञमा एमालेको पूर्णसहयोग रहने बताए । नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्यले सबैको साथ र सहयोगमा महायज्ञ सफल हुने भएकाले सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिए । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले मानव सेवा नै जीवनको सबैभन्दा ठुलो सेवा भएको बताउँदै यस अभियानमा पूर्णसहयोग रहने बताए ।
कार्यक्रममा सहभागी अन्य राजनीतिक दलका नेताहरूले मानव सेवाको अभियानलाई सबै माझ पु¥याउन र सडक मानवहरूको सेवालाई अझै प्रभावकारी बनाउन आयोजना गरिएको महायज्ञमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । मानव कल्याण समाज र महायज्ञको बारेमा मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमी मानवले जानकारी गराएकी थिइन् ।
