Goraksha

National Daily

हाम्रो पहुँच विद्यालयमा खेल सप्ताह सुरु

मनिषा विक
दाङ, ७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयमा सोमबारदेखि खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताहको उद्घाटन तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालले गरेका हुन ।

खेलकुद सप्ताहको उद्घाटन गर्दै रिजालले शिक्षाले मात्रै जीवन पूर्ण नहुने भएकोले अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताए । उनले खेल स्वास्थ्यका लागि मात्रै नभएर खेलकुदले अनुशासित पनि बनाउने भएले हरेक विद्यालयले शिक्षासँगै खेलकुदका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताएका हुन ।

प्याब्सन तुलसीपुर नगरका अध्यक्ष डम्बर डाँगीले खेलमा हारजित भएपनि खेलकुदले प्रतिष्पर्धा गर्न पनि सिकाउने बताए । उनले विद्यालयले संचालन गरेको खेलकुद सप्ताहले विद्यार्थीलाई खेलकुद क्षेत्रमा थप आर्कषण बनाउने बताए ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीको मूल्य मान्यताको आधारमा विद्यालय स्थापना गरिएको बताए । उनले बजारले खोजेको जनशक्ति नभएको अवस्थामा हाम्रो पहुँच माविले दक्ष जनशक्ति उत्पादन गर्न लागिरहेको बताएका थिए ।

बालबालिकाको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्न विद्यालयले विभिन्न अतिरिक्त गतिविधि संचालन गरिरहेको बताए । संस्थाका सल्लाहकार तथा विद्यालय संचालन उपसमिति सदस्य नारायण प्रसाद भण्डारीले खेलकुदका संभावना बढ्दै गएकाले बालबालिकालाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

हाम्रो पहुँच विद्यालय २०६९ सालमा स्थापना भएको हो । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षता तथा तेकवान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

विद्यालयका कल्याणकारीणी अधिकृत तिलक भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गरेका थिए । खेलकुद सप्ताहमा फुटबल, भलिबल, कपड्डी, ज्याब्लिङ लगायतका खेलकुद हुने प्रधानाध्यापक भण्डारीले जानकारी दिएका छन् । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यहि माघ १६ गते १७ औँ वार्षिकोत्सव मनाउन लागेको छ ।