प्याब्सन घोराही किड्स ओलम्पियाड हुने
घोराही, ७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीले किड्स ओलम्पियाड सञ्चालन गर्ने भएको छ ।
प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवं प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले यही माघ २६ गते किड्स ओलम्पियाड सञ्चालन गर्ने निर्णय गरेको हो । प्याब्सन घोराहीले कक्षा एल.के.जी. देखि कक्षा एकसम्मका विद्यार्थीहरुको सहभागिता हुनेगरी किड्स ओलम्पियाड सञ्चालन गर्न लागेको अध्यक्ष बालकृष्ण ओलीले जानकारी दिनुभयो ।
प्याब्सन घोराही रनिङ शिल्डको तेस्रो संस्करण सम्पन्न गरेको प्याब्सन घोराहीले पहिलो संस्करणस्वरुप प्याब्सन घोराही किड्स ओलम्पियाड सञ्चालन गर्न लागेको अध्यक्ष ओलीले जानकारी गराउनुभयो । किड्स ओलम्पियाड सञ्चालन सम्बन्धमा प्याब्सन घोराही नगरमा आबद्ध निजी तथा संस्थागत विद्यालयका पूर्वप्राथमिक तहका संयोजकहरुसँग माघ ११ गते शुक्रबार छलफल गर्ने निर्णय गरेको सचिव विमल भण्डारीले जानकारी गराउनुभयो ।
नगर समिति उपाध्यक्ष मानसिङ घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको बैठकमा प्रमुख सल्लाहकार वीरेन्द्र चन्दले आफ्ना धारणा राख्नुभएको थियो । बैठकको सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियो ।
