Goraksha

National Daily

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती शल्यक्रिया कक्ष

बुटवल, ४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसुती सेवालाई विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्षको उद्घाटन गरेका छन । उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताए । ‘उपचार सेवा लिन जुन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’,मुख्यमन्त्री आचार्यले भने,‘अव पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौं भन्ने लागेको छ ।’

प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनेगरी सरकारले कार्यक्रम बनाएको बताउदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको औंल्याए ।‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो’उनले भने,‘दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ । अझ यहाँहरुबाट थप योगदान सरकारले खोजेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वस्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डाक्टर बासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा.विनोद गिरी, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.इन्द्र ढकाल लगायतको सहभागिता थियो ।