होलेरीमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु

दाङ, ९ पुस । रोल्पाको होलेरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा सुरु गरेपछि स्थानीय नागरिक खुसी भएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिन अघिदेखि होलेरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक खटाएर सेवा सुरु गरेको थियो ।

अव सामान्य उपचारका लागि घोराही धाउनुपर्ने वाध्यता हट्ने स्थानीयको आशा छ । स्वास्थ्य क्षेत्रमा पहुँंच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर होलेरीमा विशेषज्ञसहित सेवा सुरु गरिएको हो । प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पामा पुस १ गतेदेखि लागु हुने गरी एमबिबीएस डाक्टर पठाएको हो ।

प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबिबिएसको पढाइ सुरु गर्न थालेपछि रोल्पाको होलेरीमा एमबिबिएस डाक्टर पठाएको र गाँउमै स्थानियले चिकित्सकवाट उपचार प्राप्त गरुन भन्ने उदेश्यले सेवा सुरु गरिएको प्रतिष्ठानका निमित्त निर्देशक डा. जनार्दन पन्थीले बताएका छन् ।

एमबिबिएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेसँगै होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘कम्यूनिटी आउट रिच सेन्टर’को रुपमा रहने गरी चिकित्सक व्यवस्थापन गर्न थालेको हो । गत असारदेखि होलेरी अस्पतालमा एमबिबीएस चिकित्सक उपलब्ध थिएनन् । जस्ले गर्दा विरामीले सामान्य उपचारका लागि पनि दाङ आउनुपर्ने बाध्यता थियो । हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन। तीमध्ये एक जनालाई निकट भविष्यमै रोल्पाका लागि खटाउने तयारी प्रतिष्ठानको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टिगढी गाँउपालिका होलेरी रोल्पाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भए बमोजिम प्रतिष्ठानले चिकित्सकको ब्यवस्थापन गरेको हो । एमबिबिएस चिकित्सकको ब्यवस्था भएमा त्यहाँका स्थानीयले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताएका छन्।