प्याब्सन घोराहीद्वारा सम्मान

घोराही,९ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीले प्याब्सन दाङको १६ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।

प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम् को प्याब्सनका केन्द्रीय सचिव यादव गिरिको प्रमुख आतिथ्यतामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष निर्मल न्यौपाने, वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्द, उपाध्यक्ष शोभाखर भुसाल, सचिव आदिम केसी, कोषाध्यक्ष हरिप्रसाद ओली, सहसचिव कृष्णप्रसाद पोख्रेल र सहकोषाध्यक्ष बिमल अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी, भुगोलतर्फका निर्वाचित सदस्यहरु वामदेव पोख्रेल (तुलसीपुर), हरिप्रसाद पौडेल (घोराही), गोविन्द खनाल (लमही), पुष्करदेव चौधरी (राप्ती) र दिपक पोख्रेल (गढवा) लाई सम्मान गरिएको थियो ।

सम्मानित हुनुहुने नवनिर्वाचित खुल्ला सदस्यहरुमा केशकुमार खड्का, सुनिल गौतम, विजय गौतम, विष्णु हमाल र पार्वता भुसाल रहेका थिए । कार्यक्रममा नवनिर्वाचित जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई प्याब्सन घोराही नगरको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा प्याब्सनका केन्द्रीय सचिव यादव गिरि, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष डा सुदिप गौतम, प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारी, पूर्व केन्द्रीय सदस्य विनयकुमार मिश्र, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापालगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले प्याब्सनलाई एकताबद्ध गरेर सक्रियता अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । प्याब्सन दाङको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व लिएको दाङ प्याब्सनले सबैलाई मिलाएर लैजानुपर्ने कार्यक्रमका वक्ताहरुले नेतृत्वलाई सुझाएका थिए । यसैगरि, प्याब्सन घोराही नगर कमिटीले आइतबार प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानालाई स्वागत तथा सम्मान गरेको छ ।

प्याब्सन दाङको १६ औं अधिवेशनका लागि दाङ आएको अवसरमा केन्द्रीय अध्यक्षलगायत केन्द्रीय र प्रदेश पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको थियो । उक्त अवसरमा घोराही उपमहानगरपालिका भित्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरु समेटिएका फोटाहरुसहितको मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्याब्सन घोराहीका सचिव बिमल भण्डारीले गरेका थिए ।