गोरक्ष समाचारदाता
दाङ, २ पुस । घोराहीमा दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिप २०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा घोराही–१७ धोब्बे स्थित भूपू सैनिक हलमा सोमवारदेखि च्याम्पियनसिप सुरु भएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदास गौतमको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो । सो अवसरमा प्रमुख अतिथि गौतमले खेलकुदको विकासका लागि स्थानीय स्तरमा रहेका खेलाडीको प्रतिभा पहिचानमा यस प्रकारका गतिविधिले सघाउ पुग्ने बताए । उनले स्थानीय सरकारसँग प्रदेश सरकारले पनि सहकार्य गरेर खेलकुदको वातावरण बनाउने गरी कार्ययोजना अघि सारेको बताए । वडा नम्बर १७ का वडाध्यक्ष रामलौटन चौधरीले वडाले पनि खेलकुद विकास समितिमार्फत् विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताए ।
घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले जीवनलाई स्वस्थ राख्ने विधि खेलकुद भएकाले शारीरिक, मानसिक स्वस्थता कायम गर्न खेल सबैका लागि महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा पालिकामा हुने सबै खेललाई आवश्यक बजेटमा ध्यान दिइने बताए ।
तेक्वान्दो संघ दाङका अध्यक्ष विष्णु अधिकारीले तेक्वान्दो खेललाई पालिकाले सम्बोधन गर्नु सुखद् पक्ष भएको बताउँदै तेक्वान्दो खेलमा पालिकाले लगानी गर्न ध्यान दिनु पर्नेमा जोड दिए । उनले पालिकाको साख जोगाउने काम गरेको तेक्वान्दो खेललाई सही मूल्याङ्कन गर्ने बेला आएको बताए । नेपाल–भारत भूपू सैनिक दाङका सचिव पदम केसीले खेलकुदमा लगानीमैत्री वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, वडा खेलकुद विकास समिति वडा नम्बर १७ का अध्यक्ष दुर्गा खत्रीलगायत बोल्नुभएको थियो । प्रतियोगितामा पालिकाभरका २४ डोजाङका करिब चार सय खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ । दोस्रो नगरस्तरीय तेक्वान्दो च्याम्पियनसिपका खेल संयोजक दामु शर्माको स्वागत मन्तव्यबाट सुरु भएको प्रतियोगिताको सहजीकरण नगर खेलकुद विकास समितिका सदस्य श्रवणकुमार खनालले गरेका थिए ।
यसैबिच खेलकुदका माध्यमबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै राकेश परियार, सुनिता विष्ट, तेक्वान्दो खेलाडीहरू जस्मिन चौधरी र कमल खड्कालाई सम्मान गरिएको थियो ।