गोरक्ष समाचारदाता
दाङ, ३० मङ्सिर । पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार दाङ भ्रमण गरी फर्केका छन् । पूर्व राजाको दाङ आगमनमा बाक्लो सुरक्षा व्यवस्थापनसँगै राजसंस्था पक्षधर एवम् समर्थकहरूको पनि अर्थपूर्ण सहभागिता रहेको थियो । पूर्व राजा शाह अघिल्लो दुई सातादेखि नेपालगञ्जलाई मुकाम बनाएर यस क्षेत्रका विभिन्न धार्मिक शक्तिपिठहरूको दर्शन गर्ने र जनचाहना बुझ्ने अभियानमा दाङ आएको उनको अभिनन्दनमा सहभागी राप्रपाका नेता प्रेम शाहले बताएका छन् ।
नेपालगञ्जलाई मुकाम बनाएर यस क्षेत्रको भ्रमण गरिरहँदा उनी यस अघि बर्दियाको भ्रमण गरिसकेका छन् । दाङ यसपटकको दोस्रो भ्रमण हो । पूर्व राजा ज्ञानेन्द्रका साथमा छोरी प्रेरणासहित उनको सुरक्षा टिम र सचिवालयका टिमको सहभागिता रहेको थियो । यस अघि २०६१ सालमा पनि पूर्व राजा ज्ञानेन्द्र दाङको धारापानीमा रहेको पाण्डवेश्वर धाममा दर्शन गर्न आएका थिए । त्यसबेला होटल डोकोमा चियापान गरी उनी फर्केका थिए । तुलसीपुरमा पूर्व राजा शाहलाई महिला पञ्चेबाजासहित पञ्चकन्याहरूले स्वागत गरेका थिए । पूर्व राजाको अभिनन्दनमा सहभागिहरूले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए ।
पूर्व राजा शाह आफैले चलाएको वा २१ च ७३१८ नम्वरको पजेरोमा नेपालगञ्जबाट शनिवार बिहान दाङ आउँदा उनको सुरक्षाका लागि सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालित थिए । साथै पूर्व राजा ज्ञानेन्द्रको निजी सुरक्षामा खटिएका सशस्त्र प्रहरी टोली पनि शिभिल पोशाकमा पूर्व राजासँगै आएका थिए ।
बाहिनी चौकमा गाडिबाट ओर्लेका पूर्व राजा शाह विरेन्द्रचौकसम्म पैदल यात्रा गरी नागरिक अभिनन्दनमा सहभागी भए । विरेन्द्र चोकमा रहेको स्वर्गीय राजा विरेन्द्रको शालिकमा माल्र्यापण गरी उनी तुलसीपुरकै वेस्टर्न प्यालेसमा चिया पिएर घोराहीतर्फ लागेका थिए । तुलसीपुरमा सयौँको संख्यामा उपस्थित राजसंस्था समर्थकहरूले राजसंस्थाका पक्षमा नाराबाजी समेत गरेका थिए ।
उनको भ्रमणका क्रममा शिवसेना नेपालका युवा दस्ता समेत सहभागी रहेका थिए । साथै कार्यक्रममा राप्रपाका नेता कार्यकर्ता तथा भ्रातृ संस्थाका पदाधिकारीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । तुलसीपुरमा पूर्व राजाको स्वागत तथा अभिनन्दनका लागि प्रेम शाहले संयोजन गरेका थिए । त्यसैगरी घोराहीमा पूर्व राजाको भ्रमणको संयोजन पूर्व सांसद गंगा चौधरीले गरेकी थिइन् ।
शनिवार नै पूर्वराजा शाह तुलसीपुरबाट आफ्नै गाडीमा घोराहीको पाण्डवेश्वर धाममा पुगि पाण्डवेश्वर मन्दिर र विश्वकै अग्लो भनिएको त्रिशुलको दर्शन गरी पुनः नेपालगञ्ज मुकाममा फर्किएका छन् । धारापानी धाममा पूर्व राजा शाहलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्षले मन्दिरमा पूजाआजा गराएका थिए । पूर्व राजा ज्ञानेन्द्रले यही मङ्सिर १६ गतेदेखि नेपालगञ्जलाई मुकाम बनाएर यस क्षेत्रका धार्मिक शक्तिपिठको दर्शन गर्ने अभियानसहित विभिन्न जिल्लामा भ्रमण गरिरहेका छन् ।