मावि सौडियारमा महायज्ञ समापन, ३१ लाख बढी नगद संकलन

दाङ,२८ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ समापन भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि मंसिर २१ गतेदेखि सञ्चालन भएको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ आज समापन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यता एवं नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य निर्मल आचार्य, घोराही उपमहानगरपालिका–७ का वडा अध्यक्ष खोपीराम चौधरीको विशिष्ट आतिथ्यतामा महायज्ञको समापन गरिएको थियो ।

महायज्ञको समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य विश्वकर्माले धार्मिक महायज्ञले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र नैतिक शिक्षाको ज्ञानसँगै सामाजिक विकासका क्षेत्रमा सहयोग पु¥याउने बताइन । राज्यले गर्नुपर्ने कामहरु जनस्तरको पहलमा भइरहेको भन्दै प्रदेशसभा सदस्य विश्वकर्माले महायज्ञले समाजलाई सामुहिकतामा बाध्दै समाजको आवश्यकताका लागि एकजुट हुनुपर्छ भन्ने समेत सिकाउने गरेको बताइन । साथै उनले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।

समापन कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि धार्मिक महायज्ञ दान संकलन गरेर विद्यालयले राम्रो काम गरेको भन्दै दानबाट संकलन भएको रकमलाई सही रुपमा सदुपयोग गर्न सुझाव दिएका थिए । शिक्षा क्षेत्रको विकास र शैक्षिक सुधारका लागि सरकारले लगानी गर्नुपर्ने आवश्यकता रहेपनि सरकारले ध्यान नदिदा जनता एकजुट भएर लाग्नुपर्ने अवस्था अहिले पनि रहेको बताएका थिए ।

समापन कार्यक्रममा महायज्ञ अनुगमन उपसमितिका संयोजक भीमप्रकाश खड्का, घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीलगायतले मन्तव्य व्यक्त गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सञ्चालन गरिएको महायज्ञले सहयोग पु¥याउने बताएका थिए ।