बालबालिकालाई विद्यालय पोसाक सहयोग

प्रियास्मृती गजमेर
लमही, २४ मङ्सिर । लमहीमा रहेको सिटिजन बैंक शाखाले विद्यालयमा अध्यन्नरत बालबालिकालाई पोसाक सहयोग गरेको छ । बैंकको लमही शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमही नगरपालिका–९ स्थित प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत ४३ जना बालबालिकालाई विद्यालय पोसाक सहयोग गरेको हो ।

युवा व्यवसायी कृष्ण थापाको समन्वयमा बंैकले चिसो समयमा पोसाक उपलब्ध गराएको हो । पोसाक हस्तान्तरण गर्दै लमही शाखा प्रमुख दशरथ गिरीले बालबालिका समाजका एक अभिन्न अङ्ग भएको र उनीहरूलाई सहयोग गर्न पाउँदा साङ्केतिक रूपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गरेको व्यक्त गरे ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि सहयोग कार्यक्रमलाई जारी राख्ने बताए । लमही नगरपालिका–९ का वडाध्यक्ष भेषबहादुर केसीले समाजको विकास र समाज निर्माणमा निजी क्षेत्रको अतुलनीय भूमिका रहने बताए । सामाजिक संघसंस्थालाई सहर केन्द्रित नभएर दूरदराजका क्षेत्रमा लगानी गर्न उनले आग्रह गरेका थिए ।

देउखुरीको विकट क्षेत्रमा रहेको विद्यालयमा अधिकांश दलित, कुमाल र बोटे समुदायका बालबालिका विद्यालयमा अध्ययनरत छन् । घरको अवस्था कमजोर रहेकाले बालबालिकालाई शैक्षिक तथा कपडा सहयोग आवश्यक रहेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिया स्मृती गजमेरको अध्यक्षता तथा लमही नगरपालिका–९ का वडाध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यता एवम् सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड लमही शाखा प्रमुख दशरथ गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकालाई पोसाक वितरण गरिएको हो । विद्यालयका शिक्षक ज्ञानु चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले गरेका थिए ।