छात्रवृत्ति रकम फिर्ता नगरे आन्दोलन : नेविसंघ
गोरक्ष समाचारदाता
दाङ, २० मङ्सिर । घोराही स्थित सिद्धार्थ एकेडेमीमा ११ कक्षामा अध्ययनरत असिम रसाइली पूर्णछात्रवृत्तिका लागि चुनिए । छात्रवृत्तिका लागि चयन गरिनु पर्ने प्रक्रियामार्फत् छनोटमा परेका रसाइलीले छात्रवृत्तिको सहुलियतबापत विद्यालयमा कुनै पनि शीर्षकमा शुल्क बुझाउनु नपर्ने हो ।
शिक्षा ऐनले नै छात्रवृत्तिका लागि चयन हुने विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने उल्लेख गरेको छ तर छात्रवृत्तिका लागि छानिएका रसाइलीबाट विद्यालयले शुल्क असुली छोड्यो । उनले गत असार यता वार्षिक शुल्क, मासिक शुल्क बुझाएका छन् । उनले विद्यालयलाई बुझाउनु पर्ने रकम ३९ हजार पाँच सय ५० रुपैयाँ देखिन आयो । यो मध्य विद्यालयले ११ हजार छ सय रुपैयाँ मात्रै छुट दियो । रसाइलीले १७ हजार नौ सय ५० रुपैयाँ बुझाएको नगदी रसिदमा देखिन्छ ।
विद्यालयले यसबारेमा आफूलाई जानकारी नभएको बतायो । एकेडेमीका प्रधानाध्यापक तारा पौडेलले भने, ‘यो विषयमा बुझौँला, के भएको रहेछ ?’ तर नगदी रसिद काटेरै शुल्क लिएको विद्यालयले छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थीबाट कुनै शुल्क नलिएको दाबी भने गर्छ । ‘हामीले छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थीबाट शुल्क लिएका छैनौँ’, उनले भने, ‘त्यस्तो भुलबस् कतै भएको रहेछ भने हेरौँला ।’ यस्तै घोराही स्थित गोरखा इन्टरनेशनलमा कक्षा ११ मा अध्ययनरत चुडामणि केसी पनि विद्यालयको छात्रवृत्ति सूचीमा परे । उनले कुनै पनि शुल्क बुझाउनु नपर्ने हो तर विद्यालयले उनीबाट पनि गत असार यता विभिन्न शीर्षकमा २१ हजार सात सय रुपैयाँ असुल गर्नु पर्ने देखायो ।
कुनै शुल्क लिनै नपाउने विद्यालयले छुट दिएको भनेर यो गलत कदमबाट जोगिन खोजेको देखिन्छ । उसले १३ हजार रुपैयाँ मात्रै छुट गरिदिएको छ भने बाँकी रकम उनले बुझाए । ‘आठ हजार तिरिसकेको छु, अब फेरि सात हजार तिर्नु पर्ने भनेर विद्यालयले भनिरहेको छ’, विद्यार्थी केसीले भने, ‘केही शीर्षकमा मात्रै छुट गरिदिनुभएको छ, अरू त सबै शुल्क बुझाइरहेका छौँ ।’ यता यो विद्यालयले झुक्किएर कतै कमजोरी भएको भए सच्याउने बतायो ।
विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीले भने, ‘हामीले त्यसरी छात्रवृत्तिका लागि योग्य भएका विद्यार्थीबाट शुल्क लिने कुरा हुँदैन तर कतै भुलबस् त्यस्तो भएको रहेछ भने हामी हेर्छौँ ।’ यो विद्यालयका छात्रवृत्तिमा छनोटमा परेका विद्यार्थी घोराही उपमहानगर सामाजिक विकास महाशाखामा उजुरी गर्न समेत पुगेका थिए । ‘केही विद्यार्थी सामाजिक विकास महाशाखामा जानुभएको रहेछ, त्यहाँबाट हामीलाई फोन आएको थियो’, घर्तीले भने, ‘कमजोरी भएको रहेछ भने हामी सच्चिएर अघि बढ्छौँ ।’
माध्यमिक तहसम्मको शिक्षाको पूर्णजिम्मेवारी पाएको स्थानीय तह घोराही उपमहानगरपालिकाले आफ्नो शिक्षा ऐनमा छात्रवृत्तिका लागि छनोट भएको विद्यार्थीबाट विद्यालयले भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शिक्षण शुल्क, परीक्षा शुल्क लिन नपाउने उल्लेख गरिएको छ । साथै विद्यार्थीको मन्जुरीबेगर आवास, भोजन, यातायातजस्ता अन्य विषयमा शुल्कको बाध्यात्मक परिस्थिति गर्न नपाइने उल्लेख गरेको छ तर घोराही क्षेत्रका अधिकांश विद्यालयले छात्रवृत्तिमा परेका विद्यार्थीबाट ऐनविपरीत शुल्क असुल गरिरहेको पाइएको छ ।
‘छात्रवृत्ति पाएका विद्यार्थीबाट कुनै शुल्क लिन नपाउने प्रावधानविपरीत विद्यालयले शुल्क असुल गरिरहेको तथ्य फेला परेका छन्’, यो विषयमा अध्ययन थालेका नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले भने, ‘विद्यालयले छात्रवृत्तिको सूचीमा विद्यार्थीको नाम समावेश गर्ने तर उनीहरूबाट शुल्क लिइरहेको पाइएपछि हामीले सचेत बनाएका छौँ ।’ नेविसंघले केही दिन यता छात्रवृत्ति प्राप्त विद्यार्थीले सहुलियत पाए नपाएको विषयमा अध्ययन गरिरहेको छ ।
विद्यालयले छात्रवृत्तिको सुविधा पाउने योग्य विद्यार्थीबाट शुल्क असुल गरेको तथ्य रकम फिर्ता गर्नुले अझ पुष्टि गर्छ । घोराहीका केही विद्यालयले छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थीबाट शुल्क असुल गरेको र यसलाई भुलबस भन्दै फिर्ता समेत गरिदिएका छन् । घोराही स्थित जनज्योति विद्या मन्दिरले छात्रवृत्तिका लागि योग्य विद्यार्थीबाट लिएको सात लाख ११ हजार दुई सय ५० रुपैयाँ फिर्ता गरेको छ । ‘केही विद्यालयले छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थीबाट लिएको शुल्क फिर्ता गरेको अवस्था समेत छ’, नेविसंघका जिल्ला अध्यक्ष पोख्रेलले भने, ‘केहीले फिर्ता गर्छौँ भनेर हामीसँग कागजी सहमति गरेको अवस्था छ ।’
छात्रवृत्तिको सुविधा प्रदान नगरेर विद्यार्थीबाट रकम असुल गरेका केही विद्यालयले असुल गरेको रकम फिर्ता गर्ने लिखित कागज गरेको भए पनि फिर्ता गर्न आनाकानी गरिरहेका छन् । केहीले रकम फिर्ता नगर्ने भनेर ठाडै अस्वीकार समेत गर्ने गरेका छन् । ‘छात्रवृत्तिका लागि छानिएका विद्यार्थीबाट शुल्क असुल गरेको र यो रकम फिर्ता गर्ने भनेर केही विद्यालयले हामीसँग लिखित सम्झौता नै गरेको अवस्था छ’, पोख्रेलले भने, ‘केहीले फिर्ता गरेका भए पनि केहीले विभिन्न वहानाबाजी गरेर टारिरहेको अवस्था छ, घोराहीकै सिद्धार्थ एकेडेमीले त ऐन मान्दैनौँ भनेर असुल गरिएको रकम फिर्ता नगर्ने भनेर ठाडै अस्वीकार गरेको अवस्था छ ।’
विद्यालयले छात्रवृत्तिको सुविधा प्रदान नगरेर उल्टै विभिन्न शुल्कका नाममा डाम्दै आएको भए पनि शिक्षाको जिम्मेवार निकाय भने मौन बसिरहेको छ । उसले विद्यालयलले गरेको यो घोटालाबारे कुनै एक्सन लिन सकेको छैन । घोराही नगर सामाजिक विकास महाशाखाका प्रमुख नारायण पौडेलले विद्यालयमा छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थीबाट शुल्क लिए नलिएको बारे नगरको तर्फबाट कहिल्यै अनुगमन नभएको स्वीकारे । विद्यार्थीबाट गुनासो आएको खण्डमा विद्यालयलाई फोन गरेर ध्यानाकर्षण भने गराइएको उनले बताए ।
‘हामीले त्यसरी अनुगमन नै त गरेका छैनौँ तर विद्यार्थीबाट आएका गुनासोका आधारमा विद्यालयका प्रधानाध्यापकलाई फोनमार्फत् सचेत भने गराएका छौँ’, पौडेलले भने, ‘सबै विद्यालयले यसलाई कार्यान्वयन गरिरहेको जानकारी हामीलाई दिने गरेको अवस्था छ ।’ छात्रवृत्तिको सूची तयार पारेर शुल्क असुल गरिरहेका विद्यालयले झुट जानकारी दिँदा समेत ढुक्क बनेर बसिरहेको उपमहानगरले यसको नियमनका लागि चासो देखाउन सकेको छैन । यहाँसम्म कि छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थी गुनासो लिएर नगर समक्ष पुग्ने गरेका छन् ।
घोराहीको गुरुकुल एकेडेमी, गोरखा इन्टरनेसनलका छात्रवृत्ति सूचीमा परेका विद्यार्थी आफूहरूले शुल्क तिरिरहेको गुनासो सुनाउन घोराही उपमहानगरमा पुगेको घोराही सामाजिक विकास महाशाखाका प्रमुख पौडेलले स्वीकारे । ‘केही विद्यार्थी छात्रवृत्तिको सूचीमा पर्दा पनि शुल्क तिर्न परिरहेको गुनासो लिएर आएको अवस्था हो’, पौडेलले भने, ‘हामी अब यो विषयमा आफ्नो तरिकाले अध्ययन गरेर अघि बढ्छौँ ।’
यसैबिच छात्रवृत्ति प्राप्त विद्यार्थीबाट रकम असुल गरिरहेको विषयमा अध्ययन अनुगमन गरेको नेविसंघले पत्रकार सम्मेलन गरेर तथ्य सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कुलराज पोख्रेलले छात्रवृत्तिका लागि छनोटमा परेका विद्यार्थीबाट शुल्क लिइरहेको गलत धन्दाविरुद्ध कानुनी उपचारमा जाने समेत बताए ।