गोरक्ष समाचारदाता
तुलसीपुर, २० मङ्सिर । लैङ्गिक हिंसा न्यूनीकरणमा सबै उत्तरदायी हुनु पर्ने सहभागीले बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा, वडा नम्बर ३ को आयोजनामा लैङ्गिक हिंसाविरुद्धको सचेतना कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन् ।
एनएबिपी नर्वेको आर्थिक सहयोगमा तुलसीपुर–३ दमारगाउँको सरस्वती माध्यमिक विद्यालयमा भएको कार्यक्रमका सहभागीले अफै हिंसामा परेकाहरूले खुलेर आफ्ना समस्या राख्न नसकेको भन्दै यसलाई न्यूनीकरण गर्न सचेतना आवश्यक रहेको बताए । नेपाल नेत्रज्योति संघ दाङका सदस्य ध्रुव गौतमको अध्यक्षता तथा तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विकले हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको भन्दै आम नागरिकलाई नीति र कानुनबारे जानकारी दिई सचेत बनाउन सकियो भने मात्र हिंसा न्यूनीकरण हुने बताएका थिए । उनले सबैको साझा प्रयासले मात्र हिंसा न्यूनीकरण हुने बताएका थिए ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले आँखा अस्पतालमा विभिन्न लैङ्गिक हिंसाका घटनाबाट घाइतेहरू आउने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सबैले हातेमालो गर्न आवश्यक भएको बताए । उनले आँखामा चोटपटक लागेर अस्पतालमा आउने त्यस्ता घटनालाई सम्बन्धित निकायमा न्यायका लागि पठाउन आफूहरूले सहजीकरण गर्ने बताए । खड्काले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालले गरेका कार्यबारे सङ्क्षिप्त जानकारी दिँदै नेपाल नेत्रज्योति संघले सुशासन बालबालीका र लैङ्गिकमैत्री नीति ल्याएको भन्दै अस्पतालले हिंसामा परेका व्यक्तिहरूको विवरण लिने गरेको र हिंसा रोक्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी सूष्मा गिरीले सबैभन्दा बढी महिलाहरू हिंसापीडित रहेको भन्दै महिला हिंसा न्यूनीकरणमा सबैको भूमिका आवश्यक रहेको बताइन् । उनले हिंसा न्यूनीकरण र हिंसापीडितलाई सबै मिलेर न्यायमा पहुँच वृद्धि गराउनतर्फ लाग्नु पर्ने सुझाव दिइन् । उनले लैङ्गिकक हिंसासम्बन्धी सचेतना कार्यक्रमबारे सहभागीलाई प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक दिलीप योगीले हिंसा गर्ने जोकोहीलाई कानुनी कारबाही हुने भन्दै ंिहंसाका प्रकार, पीडितहरूले हिंसामा परे कहाँ उजुरी दिने, बालविवाह, लागूपदार्थ दुव्र्यसनको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियना अन्तर्गत विभिन्न सरोकारवालासँगको साझेदारीमा कार्यक्रम गरिरहेको भन्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की वडा सदस्य दिलमाया नेपाली, सरस्वती माविका प्रधानाध्यापक जगवीर केसीलगायतले बोलेका थिए । कार्यक्रममा बालसञ्जालका सूष्मा भण्डारी, रेजिना मियाँले हिंसाविरुद्धको सचेतनात्म गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, कक्षा ८, ९ र १० का विद्यार्थी तथा तिनका अभिभावकको सहभागिता थियो ।