स्वरोजगारको माध्यम बन्दै होमस्टे

प्रिया स्मृती गजमेर
लमही, ५ मङ्सिर । पछिल्लो समय दाङमा होमस्टे ग्रामीण क्षेत्रका स्थानीयमा स्वरोजगार सिर्जना गर्ने माध्यम बन्दै गएको छ । देउखुरीको राजपुर गाउँ पालेका–१ मा थारू सामुदायिक होमस्टे, ॐ शिवशक्ति सामुदायिक होमस्टे, गुरुङ खोला मगर सामुदायिक होमस्टे माररी खोला सामुदायिक होमस्टे, रसरी खोला सामुदायिक होमस्टे र वडा नं. ६ मा एउटा गरी ६ वटा सामुदायिक होमस्टे रहेका छन् । ती होमस्टेमध्ये अहिले चारवटा होमस्टे सञ्चालनमा रहेका छन् ।

राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना गर्ने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने माध्यम होमस्टे बनेको बताइन् । ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने, ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेसी, आदिवासी जनजाति र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने गरी राज्यले यो कार्यक्रम ल्याएको हो’ उपाध्यक्ष यादवले भनिन् ।

होमस्टे सञ्चालन गर्दा के–के कुराको अभाव छ, आवश्यकता के हो भन्ने कुराको महत्व बुझेर विवरण पालिकामा पठाउन होमस्टे सञ्चालकहरूलाई उनले आग्रह गरिन् । मानवकल्याण संरक्षण केन्द्र दाङले मङ्गलवार र बुधवार दुई दिन चलाएको होमस्टे तालिममा बोल्दै उपाध्यक्ष यादवले मानवकल्याणले राजपुरमा धेरै सामाजिक काम गरी विपन्नवर्गको उत्थानमा सहयोग पु¥याएको बताइन् । तालिम सिकेर मात्र हुँदैन, सिकेको सिपलाई व्यवहारमा उतार्नु र आर्थिक रूपमा बलियो बन्न सक्नु पर्ने धारणा राखिन् । घर वरपर सफाराख्ने, सडक बाटो फराकिलो गराउने, जैविक विविधताको संरक्षण गर्न पनि स्थानीयलाई उपाध्यक्ष यादवले आग्रह गरिन् ।

यसैगरी राजपुर गाउँपालिका–१ का वडाध्यक्ष सूर्यप्रसाद चौधरीले दुर्गम बस्तीलाई सुगम बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए । यहाँका स्थानीयको आयस्तर बढाउन पर्यापर्यटनसँग जोडिनु पर्ने उनको भनाइ छ । यहाँका किसानले उत्पादन गरेका कृषि खाद्यवस्तुले उचित मूल्य नपाइरहेको बेला राम्रो व्यवस्थापनका साथ होमस्टे सञ्चालन गर्न सके त्यसमा टेवा पुग्ने कुरामा आफू विश्वस्त भएको बताए । ‘वडा नम्बर १ प्रकृति र प्राकृतिक रूपमा धनी वडा हो, यहाँ थुप्रै सम्भावना छन्, प्रकृतिले दिएका अमूल्य सम्पत्ति उपयोग गरेर आर्थिक समृद्धि ल्याउन सकिन्छ’, वडाध्यक्ष चौधरीले भने । सञ्चालनमा रहेका होमस्टेमा फरक–फरक परिकार पाइनुका साथै पाहुनालाई जङ्गल सफारीदेखि होमस्टेको स्वागत–सत्कार पाइने उनले बताए ।

यहाँका होमस्टे सञ्चालकलाई मानवकल्याण संरक्षण केन्द्र दाङले मङ्गलवार र बुधवार गरी दुईदिने तालिमको आयोजना गरेको छ । उनीहरूको परम्परागत व्यावसायिक शैलीमा नयाँपन ल्याउन र आर्थिक लाभका लागि तालिमको आयोजना गरिएको मानव कल्याण संरक्षण केन्द्र दाङका कार्यक्रम निर्देशक प्रदीप मजगैयाँले जानकारी दिए । स्थानीय उत्पादनलाई सस्तोमा उपयोग गराउने, स्थानीय परिकार खुवाउने, होमस्टे सञ्चालन गरेका स्थानमा संरक्षित वस्तुहरूको अध्ययन अवलोकन गर्ने नै होमस्टे सञ्चालनका मुख्य आधार भएको उनले बताए । देउखुरीलाई चिनाउने प्रचुर सम्भावना होमस्टेको रहने उनले बताए ।

राजपुर गाउँपालिका होमस्टे महासंघका अध्यक्ष लालबहादुर बुढा मगरले शौचालय, कोठा, ओढ्ने, ओछ्याउने कपडाहरूको राम्रो प्रबन्ध गर्ने कुरामा होमस्टे सञ्चालकहरू चनाखो हुनु पर्ने बताए । वडामा भएका होमस्टे सञ्चालकहरूले कुन होमस्टेलाई के कुराको आवश्यकता छ, ती कुराको पहिचान गरेर मात्र स्थानीय सरकारसँग बजेट माग गर्नु पर्ने उनले बताए । फिल्ड सहजकर्ता सोनी थारू कुमालले स्वागत गरेको कार्यक्रमको सहजीकरण राममोती चौधरीले गरेकी थिइन् ।