Goraksha

National Daily

फोहर व्यवस्थापनका लागि सहमति

टेकबहादुर पुन
लमही, ३० कात्तिक । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह र लमही नगरपालिकाबिच सहमति भएको छ । लमही बजार क्षेत्रबाट सङ्कलित फोहोरमैला अजम्मरी सामुदायिक वन क्षेत्रभित्र फालिँदै आएको स्थानलाई लमही नगरपालिकाले भोकाधिकार लिने र डम्पिङ साइटलाई थप व्यवस्थापन गर्ने विषयमा सहमति जुटेको हो ।

अव्यवस्थित तवरले फालिँदै आएको डम्पिङ साइटलाई तत्कालै व्यवस्थापन गर्न अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले गत असोज २३ गते लमही नगरपालिका नगर प्रमुखलाई ध्यानाकषर्ण गराएको थियो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले एक महिना अल्टिमेटम समय दिएको अवधिभित्र कुनै सुनुवाइ नगरेपछि सामुदायिक वनले गत २४ गते मूलगेटमै ताला लगाएको थियो । ताला लगाएको ६ दिनपछि सामुदायिक वन र लमही नगरपालिकाबिच छलफलपछि सहमति जुटेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए ।

उनका अनुसार लमही नगरपालिकाले पहिलो चरणमा डम्पिङ साइटको क्षेत्रमा मूलगेट सहतिको व्यवस्थित जाली, तारबार निर्माण गर्ने, डम्पिङ साइटको रेखदेख र फोहोरको उचित व्यवस्थापनको लागि एकजना जनशक्ति लमही नगरपालिकाले व्यवस्थापन गर्ने, डम्पिङ साइटमा हाल जम्मा रहेको फोहोरलाई माटोले पुरेर दुर्गन्धित फोहोरलाई व्यवस्थापन गर्ने सहमति भएको छ ।

नगरपालिकाले लमही बजार क्षेत्रबाट सङ्कलित कुहिने र नकुहिने फोहोरलाई डम्पिङ साइटभित्र छुट्टाछुट्टै व्यवस्थापन गर्ने, हाल निर्माण सम्पन्न भइसकेको दुईवटा टहरामा नकुहिने फोहोरलाई प्रशोधन समेत गर्ने भएको छ । यस्तै लमही नगरपालिकाले दुई वर्षभित्र फोहोरमैला व्यवस्थापनको डिपिआर तयार गरी डम्पिङ साइटलाई थप व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गर्ने, दिसाजन्य लेदो व्यवस्थापन आयोजना हालको डम्पिङ साइट क्षेत्रभित्र सञ्चालन गर्ने र डम्पिङ साइट क्षेत्रको जग्गा लमही नगरपालिकाले दुई वर्षभित्र भोकाधिकार लिन सङ्घीय सरकार समक्ष पहल गर्ने जनाएको छ ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक वन क्षेत्रभित्र रहेको डम्पिङ साइटलाई थप व्यवस्थापनको काम अघि बढाइने बताए । उनले डम्पिङ साइटलाई दिगो रूपमै व्यवस्थापन गरेर सञ्चालन गर्ने बताउँदै लमही नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर लैजाने बताए । ‘अवको नगर सभामा डम्पिङ साइटलाई पहिलो प्राथमिकता दिँदै, प्रत्येक वर्ष डम्पिङ साइटलाई उचित व्यवस्थापन गर्न कार्यपालिका बैठकबाट निर्णय गरेर अगाडि बढ्नेछौँ’, उनले भने ‘डम्पिङ साइट व्यवस्थापन सम्बन्धमा लमही नगरपालिकको गम्भीर ध्यानाकर्षण भएको कुरा तपाईँहरूको माझमा राख्न चाहन्छु ।’

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरले डम्पिङ साइट व्यवस्थापनसम्बन्धी सम्पूर्ण कामकाज तत्काल सुरु गर्ने प्रतिबद्धता जनाए । ‘डम्पिङ साइट व्यवस्थापनमा नगरपालिकाबाट प्राविधिक सहितको टोली परिचालन गरेका छौँ’, उनले भने, ‘डम्पिङ साइट व्यवस्थापनमा कुनै काम कसर बाँकी राख्ने छैनौँ । लमही नगरपालिका र सम्बन्धित वडा कार्यालय यस डम्पिङ साइट व्यवस्थापनमा आउने चुनौतीसँग सामना गर्न तयार रहेको कुरा यहाँहरूबिच राख्न चाहन्छु ।’

सहमति जुटेपछि मूलगेटमा लगाइएको ताला खोलिएको छ । अजम्मरी सामुदायिक वनभित्र विगत १४÷१५ वर्षदेखि अव्यवस्थित तवरले फोहोर फालिँदै आइएको थियो । विगतदेखि कर्री सामुदायिक वनमा अव्यवस्थित तवरले फोहोर फाल्ने गरिएको भए तापनि उक्त सावउसले दुर्गन्धित तथा अव्यवस्थित भएको भन्दै आफ्नो सावउस क्षेत्रमा फोहोर फाल्न नदिएपछि तत्कालीन अवस्थामा रहेको चैलाही गाविसको राजनीतिक सर्वदलीय रहेको समितिबाट केही समयका लागि अजम्मरी सामुदायिक वन क्षेत्रमा फोहोर फालिने र छिटोभन्दा छिटो अन्य स्थानमा फोहोरलाई व्यवस्थापन गर्ने भनेर भएको मौखिक सम्झौता बमोजिम यस सावउस क्षेत्रभित्र फोहोर फालिदैँ आइएको थियो ।