भैलोबाट संकलित एक लाख रकम क्यान्सर पीडितको उपचारका लागि सहयोग

दाङ,२३ कात्तिक । भैलोबाट संकलित रकम क्यान्सर पीडित बिरामीको उपचारका लागि सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० मा रहेको प्रकृति लोक सांस्कृतिक क्लवले तिहारका अवसरमा भैलो खेलेर संकलन गरेको डेढ लाख रकममध्ये एक लाख रुपैयाँ क्यान्सर पीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको न्यु स्टार फुटबल एकेडेमीका खेलाडी भीमसेन थापाकी आमा गौमती थापा स्तन क्यान्सर रोगका कारण बी। पी। कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ । बिरामीको उपचारमा सहयोग पुगोस भनेर भैलोबाट संकलन गरिएको रकम सहयोग गरिएको प्रकृति लोक सांस्कृतिक क्लवका अध्यक्ष आशिष पुनले बताउनुभयो । भौलोबाट संकलित रकम प्रत्येक बर्ष सामाजिक कार्यमा लगाउने गरेको भन्दै अध्यक्ष पुनले यो बर्ष बिरामीको उपचारका लागि सहयोग गरिएको बताउनुभयो ।

अध्यक्ष पुनका अनुसार गतबर्ष भैलोबाट संकलन गरिएको एक लाख मुल्य बराबराका विभिन्न सामाग्री क्लवले घोराही उपमहानगरपालिका–१० मा रहेको सेवाघर, वडा नं १६ मा रहेको वृद्धआश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरमा सहयोग गरेको थियो । उक्त रकम घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दीपक पाण्डेय, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर।के।शीतल र क्लवका अध्यक्ष आशिष पुनले संयुक्त रुपमा क्यान्सर रोग पीडित गौमाता थापाका छोरा भीमसेन थापालाई नगद हस्तान्तरण गर्नुभएको थियो । क्लवका सस्थापक सुनिल पुनको सम्झनामा उक्त रकम शुक्रवार एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष पाण्डेयले भैलोबाट संकलित रुकमलाई बिरामीको उपचारका लागि खर्च गरेर सामाजिक पुन्यको काम गरेको बताउनुभयो । तिहारका अवसरमा भैलो खेल्ने र पिकनिक वा भ्रमण जाने संस्कृति मौलाइरहेको समयमा आर्थिक रुपमा विपन्न परिवारलाई उपचारमा सहयोग गरेर महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर के शीतलले चाडपर्वको समयमा देउसी भोलो खेलेर संस्कृति संरक्षणसँगै संकलित रकमलाई बिरामीको उपचारमा सहयोग गरेर क्लवले उदाहरणीय कार्य गरेको बताउनुभयो । समाजमा दुःख बिरामी पर्दा सामुहिक सहयोगको आवश्यकता रहेको भन्दै सचिव शीतलले त्यो कामको सुरुवात प्रकृति लोक सांस्कृतिक क्लवले गरेको बताउनुभयो ।

प्रकृति लोक सांस्कृतिक क्लवका अध्यक्ष आशिष पुनको अध्यक्ष तथा घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दीपक पाण्डेयको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर।के।शीतलको विशिष्ट आतिथ्यतामा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो । भैलो कार्यक्रम संयोजक खुमबहादुर पुनको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण न्यु स्टार फुटबल एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले गर्नुभएको थियो ।

कार्यक्रममा भैलो खेल्नका लागि बाद्यबादनमा सहयोग गर्नेलाई प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो । साथै क्लवले बिरामी गौमती थापाको उपचारका लागि सहयोग गरिदिन सवैसँग आग्रह गरेको छ । बिरामीको उपचारका लागि ४३ लाख रुपैयाँ लाग्ने अस्पतालले भनेको र घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भइरहेको भन्दै क्लवका अध्यक्ष पुनले सवैसँग थोरै भएपनि आर्थिक सहयोग गरेर उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।